२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

रेचेघाटमा पक्की पुल निर्माण

६ बैशाख, रामपुर (पाल्पा) । पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ ।

जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल रु चार करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो । पुलको लम्बाइ ४६ मिटर रहेको छ । पैदलमार्गसहित दुईतर्फी पुल सञ्चालनमा आएसँगै पूर्वखोला तथा निस्दी क्षेत्रका बासिन्दालाई सहज भएको स्थानीय होम राई मगरले बताए।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास, खानेपानी तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले मङ्गलबार सो पुलको उद्घाटन गरे । उक्त खोलामा पक्की पुल नहुँदा यहाँका बासिन्दाले वर्षायाममा खोला वारपार गर्न समस्या भोग्दै आएका थिए । कृषकले उत्पादन गरेको सामग्री बजारमा पठाउन समस्या भएको थियो ।

पुल बनेपछि दैनिक जीवनयापनमा टेवा पुगेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताउछन। निस्दी र पूर्वखोला गाउँपालिकालाई जोड्ने मोटरेबल पुल निर्माण भएपछि यहाँका बस्ती अन्य गाउँसित जोडिएका छन् ।

प्रकाशित मिति : April 19, 2023 at 10:18 am