१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

कुतियाकवरमा जहिल्यै बाढीको त्रास

दोधारा चाँदनी, २९ चैत । तीनतिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुडापारीको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्छ । “बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुन्छ”, दोधारा चाँदनी नगरपालिका–१० का मायादेवी सुनारले भन्नुभयो, “सामान्य झरी पर्दा पनि घरभित्र पस्न डर लाग्छ ।” उहाँले बर्खा सुरुभएसँगै फेरि बाढीको चिन्ता हुन थालेको बताउनुभयो ।

“गतवर्ष बाढीले बेसार र तरकारीखेती पुरियो”, सुनारले भन्नुभयो, “बाढीकै कारण यहाँबाट धेरै बसाइँ सरेर अन्यत्र गए ।” यहाँ ४९ परिवारको बसोबास छ । अधिकांश युवा रोजगारीलाई भारत पसे । गाउँमा भएका तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्छन् । “हामीले यहाँ डरैडरमा बाँच्नु परेको छ ।”

स्थानीय वसन्ती सुनारले भन्नुभयो, “हाम्रो बस्ती अन्यत्र सारिदिए राम्रो ।” बाढीले यहाँको विघौँ जग्गा बगरमा परिणत गरेको छ । भारतबाट ट्र्याक्टर नआउँदा गहु थे्रसिङ गर्न समस्या छ । “नेपालबाट ट्र्याक्टर आउन जोगबुडा नदी तरेर आउनुपर्छ, नदीमा पानी बढे पनि हाम्रो गाउँमा ट्र्याक्टर आउन सकेको छैन ।” स्थानीय सरस्वती सुनारले भन्नुभयो, “भारतबाट ट्र्याक्टर आउन दिँदैन नेपालबाट आउन नदीमा पानी बढेको छ ।” उहाँले समयमा गहु भित्र्याउन नपाएको बताउनुभयो ।

यहाँ बेसार, तरकारी, धान, गहुँ र तोरीको उत्पादन राम्रो छ । बर्खामा बाढीले खेतमा नोक्सानी गर्ने गरेको छ भने हिउँदमा अन्न भित्र्याउन निकै समस्या झेल्नु पर्छ । स्थानीय टेकबहादुर सुनारले गहुँ थे्रसिङ गर्न नपाएको गुनासो गर्नुभयो । “हामीले जहिल्यै त्रासमा जीवन बिताउनुपर्छ”, सुनारले भन्नुभयो, “बर्खा लागे बाढीको त्रास हिउँदमा अन्न भित्र््याउने चिन्ता ।”

उहाँले जोगबुडा र महाकाली दुवै नदीले कटान गरेर यहाँको बस्ती उच्च जोखिममा रहेको बताउनुभयो । जोगबुढा नदीमा बाढीबाट बच्ने उपाय र खोज उद्दार लगायतका बारेमा समुदायस्तरमा नमुना अभ्यास प्रदर्शन गरिएको छ । बाढीको उच्च जोखिम रहेको बस्तीमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थान दोधारा चाँदनीले बाढीबाट बच्ने उपाय र खोज उद्दार नमुना अभ्यास प्रदर्शन गरेको छ । सीमा सुरक्षा गुल्म देवीस्थानको तालिम प्राप्त टोलीले बिदाको बेला घर वरपरका सरसामान प्रयोग गरेर बाढीबाट बच्न सक्ने जनाउँदै जोगबुढा नदीमा नमुना अभ्याससमेत प्रदर्शन गरेको हो । बाढीबाट जोखिमयुक्त क्षेत्रका स्थानीयमा जनचेतना फैलाउने उद्देश्यले तालिम प्राप्त टोलीद्वारा नमुना अभ्यास गराइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

दोधारा चाँदनी नगरपािलकाका नगर प्रमुख किशोर लिम्बूले बाढीबाट बच्न सशस्त्र प्रहरीले प्रदर्शनबाट स्थानीयवासीले सिक्ने अवसर पाएको बताउनुभयो । “नमुना अभ्यासबाट यहाँका स्थानीयलाई धेरै कुरा थाहा भयो”, उहाँले भन्नुभयो–“यसले विपद्को बेला आफू कसरी बच्न सकिन्छ जानकारी पाएका छन् ।”

प्रकाशित मिति : April 12, 2023 at 12:46 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/