२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

धुलिखेललाई कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन सहज


धुलिखेल नगरपालिकालाई कृषि क्षेत्रमा जापानको सीप र प्रविधि भित्र्याउन सहज भएको छ । यसका लागि नगरले जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई त्यहाँको सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको छ ।

नगर जनप्रनिधि र कम्पनी पदाधिकारीबीच भएको सम्झौतामा जापानका विभिन्न दश कृषि उद्योग र होम केयर कम्पनीमा धुलिखेलका कृषकलाई पाँच वर्षको रोजगारी दिइनेछ । नगरप्रमुख अशोककुमार ब्याञ्जूले सम्झौताअनुसार जापानिज भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षण गरी उत्तीर्ण हुने कृषकलाई त्यहाँ कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने बताउनुभयो ।

“जापानमा निश्चित समय बसेर फर्कने कृषकलाई पुनः कृषि पेसा गर्न चाहे नगरले प्रविधिमा सहयोग गर्नेछ”, ब्याञ्जूले भन्नुभयो । उहाँका अनुसार नगरभित्रका युवायुवतीले भविष्यमा कृषि तथा पशुपालनसम्बन्धी आधुनिकीकरण एवं प्रविधिमैत्री बनाउन जापानिज भाषा र सीप सिकाइनेछ । नगरले यसअघि कृषि ऐन, कानुन तथा नियमावली बनाइसकेको छ । सम्झौतापछि धुलिखेल नगरको कृषि क्षेत्रमा थप आधुनिकीकरण हुने अपेक्षा गरिएको छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले उक्त नगरलाई नेपालको पहिलो स्वस्थ सहरका रुपमा सूचीकृत गर्ने भएको छ । सङ्घीय राजधानी काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनामा पहिलो स्वस्थ सहरको मान्यता दिई नगरलाई सदस्यता प्रदान गर्ने जनाइएको छ । दिगो विकास लक्ष्यका चार लक्ष्य शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेका विश्वका आठ देशमा धुलिखेलको अनुकरण भइरहेको बताइन्छ ।

नगरले हाल एक लाख बिरुवा रोपण अभियान सञ्चालन गरिरहेको छ । शून्य कार्बन उत्सर्जन गर्ने विश्वका १५ नगरमध्येको एक पर्यटकीय धुलिखेलले थप कार्बन उत्सर्जनको पूर्वाधार र संरचना निर्माण गर्न हाल अभियानअन्तर्गत पहिलो चरणमा तीन वडामा १५ हजार फलफूलका बिरुवा रोपण गरेको हो । रोपिएका सबै बिरुवामा जिपिएस (ग्लोबल पोजिसनिङ सिष्टम)बाट संरक्षण गरिने जनाइएको छ । “अब रोपिएका बिरुवामा सबै बिरुवामा जिपिएस जोडिएको छ, उसैको माध्यमबाट बिरुवाको निगरानी हुनेछ”, ब्याञ्जूले भन्नुभयो । उहाँका अनुसार यो प्रविधि जिल्ला र धुलिखेलकै लागि नयाँ हो ।

रोपिएका सबै बिरुवालाई नम्बर दिएर प्रणालीमा जोडिएको छ । बिरुवाको अवस्था स्वाभाविकभन्दा फरक भए तुरुन्तै प्रणालीमा जानकारी आउने र नगरको सम्बन्धित विभागले सुधारको काम गरिहाल्ने जनाइएको छ । वृक्षरोपणसँग शून्य कार्बन उत्सर्जन गर्ने खालका उद्योग मात्रै स्थापना गर्ने, नगरका पूर्वाधार निर्माणलाई वातावरणमैत्री बनाउने, स्थानीय वन संरक्षण गरी वन क्षेत्रलाई सम्पूर्ण भू–भागको ४० प्रतिशतसम्म पु¥याउने योजना बनाइएको जनाइयो ।

धुलिखेलले नेपालमै पहिलोपटक वातावरणमैत्री ऐन नगरले निर्माण गरेको थियो । सोही ऐनअनुसार नगरलाई शून्य कार्बन उत्सर्जन नगर बनाइएको हो । नगरले हाल ६१ प्रतिशत फोहोर पानीलाई शुद्ध बनाई खोलामा पठाउने गरेको जनाएको छ । दिशाजन्य फोहोरबाट ग्यास र मल बनाउन योजना सुरु गरिएको नगरले जनाएको छ ।

साथै, टुँडिखेल पार्कमा विश्वभरका विभिन्न प्रकारका गुलाबका फूल उत्पादन गर्ने बगैँचा निर्माण सुरु गरिएको ब्याञ्जूले बताउनुभयो । विज्ञका अनुसार २० हजार नयाँ बिरुवा पूर्णरुपमा हुर्कंदा आठ हजार टन कार्बन न्यूनीकरण हुन्छ । यसअनुसार धुलिखेलमा शून्य कार्बन उत्सर्जनार्थ एक लाख बिरुवा पूर्णरुपमा हुर्किए ४० हजार टन कार्बन न्यूनीकरण हुने बताइन्छ । कूल १२ वडा रहेको धुलिखेलमा क्रमशः अभियानलाई योजनाबुद्ध तवरले निरन्तरता दिइने जनाइएको छ ।

धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । नगरलाई केही महिनाअघि मात्रै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचाँै नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १२:१२

https://srdb.com.np/