२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

साहित्यको फाँट राजनीतिभन्दा विराट छ: महामन्त्री शर्मा

२६ चैत, झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने बताउनुभएको छ । नेपाली लेखक सङ्घ झापाले आज अर्जुनधारामा आयोजना गरेको ‘साहित्य उत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले त्यस्तो बताउनुभएको हो । महामन्त्री शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताउनुभयो । “सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “राजनीतिज्ञले समाजको भावना र मानवीय पक्षलाई बुझेको हुनुपर्छ ।”

कार्यक्रममा झापा क्षेत्र नं १ का सांसदसमेत रहनुभएका शर्माले ‘बैशाखी’ शीर्षकको कवितासमेत वाचन गर्नुभएको थियो । पार्टीले लेखक सङ्घ र लेखकका पक्षमा उल्लेख्य काम गर्न नसकेको स्वीकार्दै उहाँले आगामी दिनमा पार्टीले त्यसलाई आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

“लेखक सङ्घलाई प्रभावकारी बनाउन मैले पहिला पनि काम गरेको थिएँ, भविष्यमा पनि त्यसलाई निरन्तरता दिनेछ”, उहाँले भन्नुभयो, “लेखकहरु समाज रुपान्तरण र परिवर्तनका सम्वाहक हुन् ।” कार्यक्रममा लेखक सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठ, महासचिव सोझो गाउँलेले सङ्घका गतिविधि र भावी कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो ।

ज्ञानमणि नेपालले राष्ट्रिय लेखक दिवस, सन्दर्भ र औचित्य, कृष्ण बरालले लीला लेखन, विचार र बहस विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्र माथि शैलेन्द्रप्रसाद नेपाल, अनुपमा रेग्मी, प्राज्ञ मुनाराज शेर्मा, विष्णुकुमार भट्टराईलगायतले टिप्पणी गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार ०९:४५