२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

महिलाको विकास विना मुलुकको विकास अधुरोः सञ्चारमन्त्री शर्मा

२० चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समग्र महिलाहरूको विकासविना समाज तथा देशको विकास अधुरो हुने बताएकी छिन्।

सञ्चारिका समूहको २६ औँ वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सञ्चारीका अग्रणी सम्मान समारोहमा बोल्दै उनले देशको ५१ प्रतिशत जनसङ्ख्या भएका महिलाको विकास नभई देश विकास हुन नसक्ने बताइन् ।

महिलाको विकास हुनु भनेको सम्पूर्ण मानव जाति कै विकासका लागि आधार हो उनको भनाई छ । उनले भनिन् ‘ महिलाहरूको विकास हुनु भनेको त्यो महिलाहरूको मात्र विकास हुनु होइन, त्यो समाजको विकास हो किनभने ५१ प्रतिशत महिलाको जनसङ्ख्या छ भने बहुमत जनसङ्ख्याको विकास नभईकन कसरी देशको विकास हुन्छ ? समाजको कसरी हुन्छ ? महिलाको विकास महिलाको मात्र होइन । महिलाको विकास भन्या सम्पूर्ण मानव समुदायको विकास भन्ने बुझ्नु पर्छ । ’

उनले सञ्चारिका समूहले संविधान निमार्ण गर्ने क्रममा महिला सांसदहरूलाई बोलाएर गरेका कार्यक्रमको स्मरण गर्दै महिला अधिकार स्थापनामा समूहको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । उनले भनिन् ‘महिलाको पक्षमा कानून निमार्ण गर्नुपर्छ भनेर संविधान निमार्ण गर्ने क्रममा महिला सांसदहरूलाई बोलाएर धेरै कार्यक्रमहरू गर्नुभएको छ ।

त्यस कारणले पनि अहिलेको संविधानमा महिलाका समस्याहरू जति सकेका छौ जे जति भएको छ त्यसका लागि सञ्चारिका समूहको महत्त्वपूर्ण भूमिका छ । पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएकी उनले सञ्चारिका समूहको २६ औँ नीति तथा कार्यक्रम र बजेटमा नै सहभागी गराएर अघि बढ्न सुझाव दिइन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा महिलालाई टिकिरहन चुनौती बढेको भन्दै पत्रकार महिलालाई सक्षम बनाउनुपर्ने बताए । पत्रकारिताका महिलालाई टिकाई रहनका लागि नेतृत्व तहबाटै पहल गर्न जरुरी रहेको उनको भनाई छ । सञ्चारिका समूहका संस्थापक अध्यक्ष वन्दना राणाले पत्रकार महिलाको व्यावसायिकता विकासमा जोड दिइन् । धेरै दुःखले स्थापना गरेको संस्था यहाँसम्म आइपुग्दा धेरै काम भइरहेको भन्दै उनले थप कामका लागि महिला पत्रकारहरू अझै सक्रिय हुन जरुरी रहेको बताइन् ।

सञ्चारिका समूहका पूर्व अध्यक्ष बबिता बस्नेतले पत्रकार महिला ८८ प्रतिशत अनलाइन हिंसामा परेको अध्ययनले देखाएको बताउँदै पत्रकार महिलाको व्यावसायिक र पेसागत सुरक्षा गर्नुपर्नेमा जोड दिइन् । सञ्चारिका समूहका पूर्व अध्यक्ष निर्मला शर्माले निर्णायक तहमा पत्रकार महिलालाई पुर्याउन, पत्रकारितामा महिलाको उपस्थित वृद्धि गर्ने र पेसागत सुरक्षामा ध्यान दिनुपर्ने आवश्यक रहेको बताइन् ।

कार्यक्रममा सञ्चारकर्मी रिना गुरुङ र सूर्यकुमारी पन्तलाई सञ्चारिका अग्रणी सम्मान प्रदान गरिएको छ । त्यस्तै २० हजार नगद सहित समानता पुरस्कार सिर्जना खड्कालाई, १० हजार नगद सहितको उमासिंह पत्रकारिता पुरस्कार रिना थापा र जनही १० हजारको प्रोत्साहन पुरस्कार निशा श्रेष्ठ र ज्ञानु घिमिरेलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : April 3, 2023 at 8:24 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/