११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

हिमनदीको पानी प्रशोधन गरि विदेश निर्यात गर्ने योजना अघि बढ्योः मन्त्री मगर

२० असोज । खानेपानी मन्त्री बिना मगरले केही ठूला नदीहरुको पानी पूर्ण प्रशोधन गरि आपूर्ति गर्ने उद्देश्यले गौरवका आयोजनाहरु संचालन गर्ने तयारी भैरहेको बताउनु भएको छ ।

पूर्वी चितवनको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको नवौँ साधारणसभा तथा पाचौँ अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले हरेक जनता माझ खानेपानीको पहुँच पुराउन त्यसै खेर गइरहेका केही ठूला नदीहरुबाट खानेपानी आयोजना सुरू गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नु भयो, “कर्णाली , महाकाली, भेरी, बबई र नारायणी जस्ता ठुला नदीको पानी पुर्ण प्रशोधन गरि आपूर्ती गर्ने योजनामा जुटेका छौं, त्यसका लागि मन्त्रालयले विदेशी दातृ निकाय तथा कम्पनीहरु संग लगानीका लागि कुरा अगाडि बढाइरहेको छ । हामी डिपीआर लाई अन्तिम रुप दिने तयारीमा छौं ।”

कार्यक्रममा उहाँले हिमालबाट बग्ने हिमनदीको पानी प्रशोधन गरि विदेश निर्यात गर्ने योजना पनि संग संगै अगाडि बढाइरहेको जानकारी दिनु भयो । उहाँले खानेपानीको आयोजना संगै प्रारम्भिक प्रशोधन गरि ढल निकास गर्नुपर्ने व्यवस्थालाई समेत नीतिगत ढंगले अगाडि बढाउन लागिएको बताउनु भयो । उहाँले देशभर रहेका खानेपानी उपभोक्ता सस्थाका गतिविधि तथा कामकारबाहीका बारे एउटै नेटवर्किङ भित्र राखेर अध्ययन गरिने बताउनुभयो । सह लगानीका आयोजनाहरू प्रभावकारी ढंगले अगाडि बढाउन मन्त्रालय लागिपरेको उहाँको भनाइ छ ।

मन्त्री मगरले तत्कालै खानेपानीको जटिल समस्या भएका गाउँहरुबाट योजनाहरु छनोट भएको समेत बताउनु भयो। उहाँले १५ दिनको अवधिमा दुरदराजका गाँउहरुबाट करिब ३ सय ५० योजना संकलन भई सकेको समेत जानकारी दिनुभयो। मन्त्री मगरले आधा घन्टा देखि ५ घण्टा सम्मको बाटो हिँडेर पानी लिन जाने बाध्यता हटाउनको निम्ति ३५० योजना संकलन गरेको र तत्कालै ति योजनाहरुमा काम सुरु गर्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रकाशित मिति : October 7, 2018 at 12:47 pm