११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

उद्योग वाणिज्य महासंघको चुनावः चन्द्र ढकालको संरक्षणमा उमेशलाल श्रेष्ठले तयार गरे प्यानल

१४ चैत, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको संरक्षणमा रहेको उमेशलाल श्रेष्ठको प्यानल तयार भएको छ । अागामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ रहने गरी प्यानल तयार भएको हो । वर्तमान वरिष्ठ उपाध्यक्ष ढकाल स्वतः अध्यक्ष बन्दैछन ।

उक्त समूहबाट वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उठ्ने भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्याहरु सरकारसँग जोडदार रुपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै आफू पुनः सोही समूहबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने घोषणा गरेका हुन्।

यस्तै वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन्। उनले सुरुदेखि नै महासंघमा उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै सोही समूहबाट आफूलाई बस्तुगततर्फको उपाध्यक्षमा अघि बढाएका थिए।यसैगरी सो समूहबाट एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य उठ्ने भएका छन् ।

पदाधिकारीको टुंगो लगाएको सो समूहले सबै समूहका सदस्यहरुको समेत टुंगो लगाएको जानकारी दिएको छ। भर्खरै सम्पन्न महासंघको प्रदेश निर्वाचतमा सबै प्रदेशमा उमेशलाल श्रेष्ठ समूहका उद्योगी–व्यवसायीहरु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै बस्तुगततर्फ पनि उमेशलाल श्रेष्ठ समूहको राम्रो पकड रहेको छ।

प्रकाशित मिति : 09:54