२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

क्वालालम्पुरमा चार्टर्ड उडानको अनुमति मागेपछि नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

१३ चैत, काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो ।

क्यानका महानिर्देशक प्रदीप अधिकारीले निगमले नियमित उडानका लागि मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष समयमै आवश्यक कागजात नबुझाउँदा उडानको अनुमति नपाएको जानकारी दिए । निगमले नियमित उडानको अनुमति नपाएपछि अहिले क्यान समक्ष चार्टर्ड उडानका लागि अनुमति माग गरेको छ ।

“निगमसमक्ष काठमाडौँ–मलेसियामा सातामा १४ वटासम्म उडान गर्ने सुविधा छ”, उनले भने, “तर निगमले हेलचेक्र्याई गरी पुरानो कागजात पठाएकाले उडान अनुमति पाएको छैन ।” निगमसँग सातामा सात वटा नियमित उडान गर्नसक्ने प्रावधान बाँकी रहँदा पनि चार्टर्ड उडान किन गर्नु परेको भन्दै स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।

निगमका प्रवक्ता अर्चना खड्काले मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष ‘समर सेड्युल’का लागि मार्च २८ देखि उडान अनुमति माग गरेको बताउनुभयो । तर प्रक्रियामै रहेकाले अनुमति प्राप्त नभइसकेको उनको भनाइ छ ।

नेपाल र मलेसियाबीच सन् २०१५ अप्रिल ३ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । सोहीअनुसार नेपाली वायुसेवा कम्पनीले मलेसियामा सातामा २८ वटा उडान गर्न सक्छन् ।

प्रकाशित मिति : March 27, 2023 at 3:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/