२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

समालोचकहरू लोभ र पापबाट मुक्त हुनुपर्छ: महेश पाैड्याल


नेपाली साहित्यमा समालोचनाले आफ्नो स्थान थप फराकिलो बनाउँदै लगेको छ । योसँगै नेपाली साहित्यमा पछिल्लो समय समालोचकहरूको उपस्थिति पनि बाक्लिदै गएको छ । समालोचकहरूले कतिपय सर्जकको वर्षौको मिहेनतको रचनागर्भमै प्रहार गरेको टिप्पणी पनि हुने गरेका छन । अझ कतिपय समालोचकले त आग्रह र पूर्वाग्रहको आधारमा कृतिहरूमाथि प्राहर गरेको पनि नसुनिएको हैन । यी र यस्तै विषयमा जान्न नेपाली साहित्य र समालोचनका विषयमा समालोचक समेत रहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक महेश पौड्यालसँग दैनिकीका प्रधानसम्पादक माधवप्रसाद तिवारीले केही प्रश्न गरेका छन । पौड्यालसँगको प्रश्नोत्तरको सम्पादित अंश यहाँ प्रस्तुत गरिएकोछ ।

एउटा समालोचकका रुपमा वर्तमान नेपाली साहित्यको समग्र अवस्थालाई कसरी हेर्नु भएको छ ?

वास्तवमा म नेपाली साहित्यको अवस्था अत्यन्तै उर्बर रहेको देख्छु । नयाँ नयाँ प्रतिभाहरु साहित्यको मूलधारमा प्रवेश गरिरहेका छन् । अहिले प्रविधिको सहयोगमा विश्वभर लेखिएका साहित्यका पुस्तकहरु एकै चोटी नेपालमा बसेर अध्ययन पनि गर्न सकिन्छ । अहिले साहित्यकार नेपाली भाषामा मात्र सिमित छैनन् । उनीहरुले विविध भाषाको पनि ज्ञान राखेका छन् वा प्रविधि र पहुँचको ज्ञान राखेका छन् भने विश्वका घटनाक्रम, विश्व परिवेश र अन्य संस्कृतिका कुराहरु पनि नेपाली साहित्यमा प्रवेश गराउन सक्छन् ।

पहिला पहिला सम्प्रेषणको प्रवृति छापा मात्र हुने गथ्र्यो । आज त्यो छापा विस्तारित भएर श्रव्यदृष्यको माध्यममा र सामाजिक सञ्जालका माध्यमहरु बाट पनि व्यक्त भइरहेको छ । यसरी हेर्दा अहिले साहित्य विभिन्न कोण भएको, धेरै भिजिवल भएको, धेरै देखिने र सुनिने भएको छ । यसप्रति म प्रशन्न छु l

तपाईँले धेरै समालोचना लेखिसक्नुभएको छ । आफैले भन्नुपर्दा तपाईँको समालोचनाको खास विशेषता के हो ?

मेरो समालोचनाको विशेषताबारे सायद तपाईँहरुले भन्ने होला या अरुले भन्ने होला वा अरु पाठकले भन्ने होला तर मैले समालोचना गरिरहँदाखेरि आफूलाई निर्देशन गर्ने केही मार्गविन्दुहरु बनाएको छु । जस्तो, समालोचना गर्नुभन्दा अगाडि मैले त्यो व्यक्तिसँगको मेरो व्यक्तिगत चिनजान, आग्रह, पूर्वाग्रह, रिसिबी आदिलाई नेपथ्यमा राख्छु । समालोचना गर्दा केबल सिर्जनामा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्दछ । मैले समालोचनामा त्यही गर्ने कोशिश पनि गरेको छु ।

दोस्रो कुरो, समालोचनामा बस्दा करिव करिव दृष्टिबिहीन हुन जरुरी छ । दृष्टिबिहीन यो अर्थ मा कि सिर्जनाबाहेक अन्य तपसिलका वा नेपथ्यका कुराहरु व व्यक्तिगत चिनाजानका कुराहरु छुट्याउन जरुरी हुन्छ । अर्कोको कुरा, मैले अरुलाई पनि भन्ने गरेको र आफूलाई पनि भन्ने गरेको के हो भने एउटा समालोचक तुच्छ कुराहरुबाट, लोभबाट, पापहरुबाट मुक्त हुनु जरुरी छ । जस्तो, कसैको मैले प्रशंसा गरिदिएर केही पाउने प्रलोभनहरु, केही फाइदा वा बेफाइदाको कुराहरु गरिएका छन् भने त्योबाट प्रभावहीन हुने अथवा कसैप्रति मेरो रिस छ भने उसको कृतिमाथि रिस पोख्ने यस्तो खालको आग्रह कतिपय समालोचनाहरु पनि गर्छन् । वास्तवमा यी आग्रहरुबाट, तुच्छ लोभहरुबाट, पापबाट वा ससाना फाइदाहरुबाट मुक्त भएको एउटा मान्छे जो केबल र केबल सिर्जना गर्ने क्षमता राख्छ, त्यो मान्छेले समाल्नु पर्ने विधा हो समालोचना ।

अर्को पनि एउटा जोड्न चाहान्छु– उद्घोषकहरुले समालोचक भनेर परिचय गराउनुहुन्छ अनि मैले तत्काल विरोध गर्ने गरेको छु । लोकप्रिय भन्ने शब्द र समालोचक भन्ने शब्द कहिले पनि जोडिदैँन । जो मान्छेलाई लोभ छ ऊ समालोचक हुन नै जादैँन । समालोचकमा त तपाई गाली गर्न पनि तयार भएर जाने हो । भएन भन्न तयार हुनु पर्यो, कालोलाई कालो, गोरोलाई गोरो भन्न तयार भएको मान्छेले सधैँ प्रशंसाको लोभ गर्न हँुदैन । लोकप्रियताको लोभ गर्न हुँदैन । लोकप्रिय हुने र प्रशंसा पाउने लोभलाई स्थगन गरेर अगाडी बढेको मान्छे समालोचक हुन्छ । यस्ता मेरा केही निर्देशक सिद्धान्तहरु हुन्, जो समालोचना कर्म गरिरहँदा मैले आफूलाई स्मरण गराउँछु र अरुमा पनि म त्यही अपेक्षा गर्छु ।

तपाईँले समामालोचना लेख्दै गर्दा कुनै वाद दर्शनको प्रयोग पनि गर्नु हुन्छ ?

समालोचनाको पनि शैली हुन्छ । त्यसले त्यो निर्दिष्ट गर्न सक्छ । कुनै वाद, अथवा कुनै दर्शनमा केन्द्रित समालोचना गर्नुभयो भने तपाईँले त्यो सिद्धान्तलाई तान्न जरुरी हुन्छ । जस्तो कसैको कृति आयो भने कृतिमा लैङ्गिक सम्बन्धहरु कसरी लेखिएको छ भन्नलाई त मैले लैङ्गिक सम्बन्धहरु सिद्धान्त वा वादलाई तान्नुपर्ने हुन्छ । कसैको कविता अथवा उपन्यासमा वातावरणको पक्ष कसरी आयो भनेर मूल्यांकन गर्दा मलाई वातावरणको सिद्धान्त थाहा हुनुपर्ने हुन्छ ।

अर्थ संरचना र समानतालाई जोडेर गर्नुपर्यो भने माक्र्सवादी अथवा अर्थसैद्धान्तिक वा अन्य सिद्धान्तको आवश्यकता पर्छ । तर एउटा समालोचक कुनै वादको पक्षमा उभिएर त्यसको प्रवक्ता हुनु पर्छ भन्ने चाहीँ मान्यता म राख्दिनँ । त्यसैले कृतिमा जे देखिन्छ त्यो भन्ने हो । जुन प्रकारको सिद्धान्तले तान्छ त्यो प्रकारको ज्ञान त्यो समालोचकले राख्ने हो र जहाँ प्रयोग गर्नुपर्ने हुन्छ त्यो प्रयोग गर्ने हो । तर कुनै एउटा वादको पक्षधर भइयो भने त कृतिलाई कसरी न्याय गर्ने ? मानौँ म नारीवादी छु भने पुरुषकेन्द्रित साहित्यको विरोध गर्ने भएँ अथवा भनौंन म प्रजातन्त्रवादी छु भने सबै माक्र्सवादीहरुको मैले विरोध गर्ने भएँ । यतिबेला मेरो समालोचना त काहीँ पुग्ने वाला छैन । त्यसले गर्दा वादको पक्ष भन्दा पनि सिद्धान्तलाई आवश्यकताअनुरुप प्रयोग गर्ने समालोचकीय पद्धति हुन्छ जस्तो मलाई लाग्छ ।

समालोचको हिसाबले तपाईँ जसरी अरुको कृतिहरु समालोचना गर्नुहुन्छ, यस्तो गर्दा लेखकहरुबाट कुनै अप्रिय टिप्पणीहरु वा आग्रह पूर्वाग्रह पालेको पाउनुभएको छ ?

त्यस्तो त धेरै छ । मैले समालोचनामा काम गरेको कलम चलाएको करिब १५ वर्ष भयो । मैले यहाँका मूलधारका पत्रपत्रिकामा पनि लेखेँ । जो दैनिक पत्रिकाहरुको साहित्यिक परिशिष्टाङ्क आउँछ त्याहाँ लेखेँ । केन्द्रीय पत्रिकाहरुमा पनि लेखेँ र धेरै त्यस्ता अप्रिय प्रतिकृयाहरु पनि आएका छन् । सायद, म पनि छुच्चो भएर गएँ होला तर भन्नुपर्ने कुरा मैले भनेरै छोड्छु भन्ने सिद्धान्तबाट म गाइडेड छु । यस्ता प्रतिकृयाहरु मैले नेपालमा के देखेको छु भने लेखक र प्रकाशकहरु मूलतः प्रशंसाले गुज्रिएका हुन्छन् र एकदमै थोरै लेखकहरु मैले यस्तो पाएको छु, जसले अप्रिय लाग्ने अथवा जस्तो छ त्यस्तै गर्ने समालोचनालाई पनि स्याबास पनि भन्नुभएको छ, मार्गदर्शन गरिस् पनि भन्नुभएको छ तर कतिपय यस्तो हुनुहुन्छ कि त्यस पछाडि उहाँहरुको हात जहाँ छ त्यहाँ निषेध गर्ने र उहाँहरुले कुनै कार्यक्रम आयोजना गर्नुभयो भने त्यहाँ निषेध गर्ने, सभा समारोहमा पनि त्यो भडास पोख्ने यस्तो चलेको छ तर म त्यसका लागि त तयारै छु किनकि त्यो मानसिक तयारी नभएको भए म समालोचनामा आउने थिइनँ । मैले के विश्वास गरेको छु भने तपाईँ एउटा प्रतिभा हो । तपाईँ सत्यवाची हो । तपाईँ सत्यमार्गी हो भने तपाईँलाईँ एउटा समयमा दश जना मान्छेले रोकेर केही हुँदैन तपाईँलाई अरु बीस जना मान्छेले अवसर दिन्छन् । अरु तीस जना मान्छेले मार्ग दिन्छन् । अरु चालिस जना मान्छेले तपाईँको प्रतिभा बढाउँछन् ।

तपाईँले समालोचनामा निरपेक्षवादको कुरा गर्नुभयो । तपाईँ आफूलाई स्वतन्त्र प्रजातन्त्रवादी भनेर चिनाउनुहुन्छ यसमा तात्विक भिन्नता के छ ?

म आफूलदाई प्रजातन्त्रवादी भन्दिनँ । म प्रजातन्त्रवादी हुँ भनेर एउटा कित्तामा म उभिएँ भने मार्कसवादको विरोध गर्ने भए अथवा म माक्र्सवाद हुँ भनेँ भने म प्रजातन्त्रविरुद्ध उभिने भएँ भनेर एउटा उदाहरणमा भनेँ । यद्यपि म एउटा उदार चिन्तक हुँ । मलाई उदारवादको एउटा निकट चिन्तन छ त्यसको अर्थ कुनै पार्टी वा कुनै समुदाय भन्ने होइन । यहाँले भन्नुभयो यसको कुनै अर्थ छ कि एउटा लेखकले किन लेख्छ अथवा एउटा समीक्षकले किन समीक्षा गर्छ अथवा एउटा समालोचक किन बोल्छ भन्दा ऊसँग एउटा विश्वलाई हेर्ने दृष्टिकोण हुन्छ अथवा समाजलाई हेर्ने दृष्टिकोण त हुन्छ । यो दृष्टिकोणको बीचमा उसको पनि दृष्टिकोण हुन्छ । र ऊ आफ्नो दृष्टिकोणलाई स्थापित गर्नका निम्ति लेखिरहेको हुन्छ, बोलिरहेको हुन्छ, सभामा जान्छ, अन्तर्वाताहरु दिन्छ । अब त्यो आफूलाई हेर्ने बनाएको विश्व दृष्टिलाई पृष्टपोषण गर्ने सिद्धान्तहरु छन् भने उसले त्यो सिद्धान्हरु अँगाल्छ । एउटा सिधा मान्छे आएर विश्वदृष्टि निर्माण गरेर त्यसलाई निर्माण गर्न सक्दैन । उसलाई कुनै न कुनै अध्यानहरुबाट अगाडि बढाइएको पद्धतिहरु वा निचोडहरुको आवश्यकता पर्छ । यिनीहरुको सापेक्षमा मैले आफ्नो दृष्टि अगाडि फाल्ने हुनाले मैले समालोचना गरिरहँदा ती दर्शनहरु मेरा सहयोगी बनेर स्वतः आउछन् र तिनकै सापेक्षतामा म अगाडी बढ्ने हो ।

हामीले यो समालोचनाबारे यति धेरै गहिराइमा कुराकानी गरिराख्दा समालोचक, अनुवादक र सर्जकको बीचमा हुने भिन्नता र सिमाहरु के हुन सक्छन् ?

तपाईँले तीन वटा कुरा गर्नुभयो यो सबैको मिलनको कुरा हो । यी सबैको बिन्दु चाहीँ भाषा साहित्यप्रतिको रस अथवा त्यो कामप्रतिको प्रेम हो । कामप्रतिको प्रेम भइसकेपछि एउटा मान्छे सर्जक बन्न सक्छ र अरुले गरोस् नगरोस् उसले आफ्नै साहित्यको सिर्जना गरिरहेको हुन्छ । त्यसैले हरेक स्रष्टा समालोचक पनि हो । उसले अरुको समालोचना गर्नै पर्छ भन्ने छैन । त्यो हामीले बुझेको समालोचनाको फ्रेममा काम गर्छ वा गर्दैन त्यो एउटा कुरा हो तर मानौं म कवि हो भने मेरो कवितालाई पनि अरुले हेरिरहेका हुन्छन् र मैले मेरा कवितमा लेखिरहेको हुन्छु । समकालीन कविहरुको कस्तो छ, उनीहरुको बिम्बविधान कस्तो छ, भाषाशैली कस्तो छ, मेरो अग्रजहरुको कस्तो छ, मेरो अनुजहरुको कस्तो छ भनेर हेरिरहिन्छ भने त्यो समालोचकीय कोण हो । त्यो दृष्टिकोण समालोचकीय कोण हो र मलाई लाग्छ हरेक सचेत सर्जक समालोचक पनि हो । एउटा सर्जक भएको नाताले मभित्रको त्यो सर्जक र समालोचक बीचमा विनिमय भइरहन्छ । जहाँसम्म अनुवादको प्रश्न छ यो चाहिँ एउटा छुट्टै सीप हो । हरेक सर्जक अनुवादक नहुन पनि सक्छ । हरेक सर्जक पनि समालोचक नहुन सक्छ । अनुवादमा दुई वटा भाषालाई वटा सर्जकले जस्तै खेलाउन सक्छ । उसले दुई वटा संस्कृति पनि बुझेको भने राम्रोसँग अनुवाद गर्न सक्दैन ।

प्रस्तुतिः सृजना खड्का

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार १७:१४