२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

नागरिकलाई नतर्साउनुस्, अहिले प्रधानमन्त्री तर्सिने समय होः गगन थापा

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद्बाट प्राप्त विश्वासको मत गनेर ढुक्क नहुन आग्रह गरेको छ । सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनमा महामन्त्री थापाले विश्वासको मत गनेर ढुक्क हुँदा मञ्च टाउकाले भरिने तर, जमिन शुन्य हुन सक्ने बताए ।  त्यसो हुँदा अहिले प्रधानमन्त्रीले जनतालाई तर्साउने नभई जनताबाट प्रधानमन्त्री तर्सिनु पर्ने बेला आएको बताए ।

उनले भने,‘मैले प्रधानमन्त्रीलाई पटक–पटक भन्ने गरेको छु। नागरिकलाई नतर्साउनुहोस् । कम्तीमा दिनमा आधा घण्टा समय निकाल्नुहोस् । भेटघाट बन्द गर्नुहोस् । एक पटक सोच्नुहोस् । आफूसँग भएको एक–एक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर डराउनुहोस् । कुर्सीमा बसेको प्रधानमन्त्री यति बेला डराउनुपर्छ। प्रधानमन्त्री डरायो भने मात्रै नागरिक डरबाट मुक्त हुने अवस्था आउँछ। प्रधानमन्त्रीले बायाँ हेर्यो भोट, दायाँ हेर्यो भोट । मसँग त १ सय ७२ भोट छ भनेर ढुक्क भएर बस्नुभयो भने टाउकै–टाउकाले मञ्च भरिन्छ । तर, भुईँमा सुन्ने मान्छे बाँकी नरहन सक्छ।’ उनले युवाहरू आत्तिएको र निराश अवस्थामा रहेको बताउँदै यसलाई चिर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार १३:१३