३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन एमालेको माग

५ चैत, काठमाडौं । नेकपा एमालेले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गरे । उनले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

आज पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले नेपाली किसानहरुको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराए ।

महासचिव पोखरेलले अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटिरहेका बेला नेपालमा किन वृद्धि गर्नु पर्‍यो भनेर सरकारलाई प्रश्न समेत गरेका छन् ।

महासचिव पोखरेलले भने, ‘अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेको बेलामा अहिलेको सरकारले जसरी मूल्य वृद्धि गर्ने काम गरेको छ। यो अत्यन्तै अनुचित छ। जबकी हाम्रो पार्टी सरकारमा रहेका बेला अर्थ मन्त्रालयको तर्फबाट रासायनिक मल आयातका लागि राज्यका तर्फबाट अनुदान वृद्धि गर्ने कुरा पनि भएको थियो। आर्थिक संकटका बेला पनि अर्थ मन्त्रालयले रासायनिक मल आयात गर्नका लागि पर्याप्त मात्रामा उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तो अवस्थामा यो सरकारलाई के बाध्यता आइलाग्यो ? जसले किसानलाई कृषि क्षेत्रबाट विस्थापित गर्ने योजना ल्याएर मलको अस्वभाविक मूल्य वृद्धि गर्ने काम गर्‍यो। त्यो सर्वथा अनुचित छ।’

प्रकाशित मिति : March 19, 2023 at 3:47 pm