१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

द्धन्द्धवाद एक सार्वभौमिक सम्बन्धको सिद्धान्त

-सरोजकुमार तामाङ

यस जगतका सबै वस्तु र घटनाहरु घनिष्ठ सम्बन्ध र एकत्वमा विकसित हुन्छन् । विभिन्न वैज्ञानिक तथ्यहरुले पनि वस्तुहरु र घटनाहरुको पारस्पारिक सम्बन्ध र निर्भरताको पुष्टि हुन्छ । जस्तै: सूर्य र सौर्यमण्डलका अन्य ग्रहहरुसँग पृथ्वीको सम्बन्ध रहेको छ भने सौर्यमण्डल पनि ठूला अन्य अन्तरिक्ष संरचनाहरुसित सम्बन्धित छ । सामाजिक व्यवस्थाको बिषयमा पनि यही नियम लागू हुन्छ । हिजोको सामन्ती व्यवस्थाभित्रै पूँजीवादी ब्यवस्थाको गर्व लुकेको थियो भने आजको पूँजीवादी व्यवस्थामा पनि वैज्ञानिक समाजवादको भ्रुण विकसित हुँदैछ ।

यसरी पृथक पहिचानका बिषयहरु एक अर्कासँग घनिष्ठ सम्बन्ध र एकत्वमा विकसित भएकै हुन्छन् । हाम्रा सामाजिक जीवनमा पनि मानिस भौतिक उत्पादनको माध्यमद्धारा प्रकृतिसित सम्बन्धित हुन्छ । श्नम नै यस सम्बन्धको रुप हो । श्नमको प्रक्रियामा मानिसहरुका आर्थिक तथा उत्पादन सम्बन्धहरु कायम हुन्छन् जसको आधारमा नै उनीहरुको राजनीतिक, न्यायिक, नैतिक र अन्य सम्बन्धहरु उत्पन्न हुन्छन् । वस्तुहरु तथा घटनाहरुको सार्वभौमिक सम्बन्ध र पारस्पारिक निर्भरता नै भौतिक जगतको सारभूत विशेषता हो । र, यसको गहन अध्ययन र अनुसन्धान गर्नु भौतिकवादी द्धन्द्धवादको महत्वपूर्ण कार्य हो ।

स्मरणरहोस् !! मार्क्सवादी द्धन्द्धवादले सबै सम्बन्धहरुको होइन, भौतिक तथा बौद्धिक जगतका सबै क्षेत्रहरुमा देखापर्ने अति सामान्य सम्बन्धहरुको मात्र अध्ययन गर्दछ । वस्तुगत जगतमा असंख्य नियमहरुले काम गरिरहेका हुन्छन् । नियम भन्नाले विकाशील वस्तुहरु अथवा यी वस्तुहरुका विभिन्न पक्षहरुका बीचमा रहेका सम्बन्धलाई बुझ्नुपर्छ ।

नियम भनेको स्थायी र दोहोरिइरहने विशाल समूहको निम्ति सम्बन्ध मात्र हो । त्यसैले जुनसुकै सम्बन्ध नियम हुन सक्दैन । नियम र विकासका गतिलाई बुझेर नै मानिसले भविष्यको अनुमान गर्न सक्दछ । उदाहरणार्थ, सामाजिक विकासका नियमहरु र ती नियमहरु लागू हुने अवस्थाहरुको बारेमा जानकारी प्राप्त गरेपछि मात्र मानिसहरुले सामाजिक प्रक्रियाहरुलाई आफ्नो नियन्त्रणमा राख्न सक्दछन्, ऐतिहासिक घटनाहरुको गतिविधिको अनुमान गर्न सक्दछन् ।

नियमहरुको चरित्र कस्तो हुन्छ भन्ने प्रश्नमा भौतिकवाद र अध्यात्मवादको बीचमा धेरै पहिलेदेखि नै विवाद चल्दै आएको छ । नियमहरुको स्रष्टा या त मानिस हो, या त अलौकिक र परालौकिक भन्ने अध्यात्मवादीहरुको धारणा छ । अर्कोतर्फ, द्धन्द्धात्मक भौतिकवादले नियमहरुको वस्तुगत चरित्रलाई मान्यता दिन्छ । मानिसले आफ्नो इच्छानुसार नियमहरु बनाउन र हेरफेर गर्न सक्दैन, उसले त नियमहरु बुझ्न र तिनको चित्रण गर्न मात्र सक्दछ । नियमहरुको वस्तुपरकताको अर्थ के पनि हो भने यिनीहरु मानिसको इच्छा र आकांक्षाबाट स्वतन्त्र हुन्छन् । जस्तै: सार्वभौमिक गुरुत्वाकर्षणको नियमलाई पन्छ्याएर अन्तरिक्षको यात्रा तय गर्न सक्दैन् । त्यस्तै सामाजिक विकासका नियमहरु बेवास्ता गर्न सकिदैँन् ।

पूँजीवादबाट मानवजातिको समाजवादतर्फको लम्काई रोक्ने साम्राज्यवादीहरुको असफल प्रयास विफल हुन्छ नै । यो एक अनिवार्य प्रक्रिया हो । यथास्थितिवादी चरित्रले सामाजिक विकासका वस्तुगत नियमहरुको गतिशीलतालाई अवरोध पैदा गर्ने चेष्टा कसैबाट हुन्छ भने त्यसको अवश्यम्भावी पतन सही छ । गतिशीलताले नै अस्थित्व निर्धारण गर्ने हुँदा मक्कि र सडिगलिसकेको पूँजीवादी व्यवस्थाको अन्त्यसँगै समाजवाद उन्मुख राज्यसत्ताको उदय निश्चित रहेको छ किनकि आजको सामाजिक जीवनमा मानिसहरुलाई आफ्नो मौलिक हक र अधिकारको प्रत्याभूति विज्ञान र प्रविधिको उच्चतम् विकासले प्रदान गरेको छ ।

समाजवादी व्यवस्थामा सामाजिक विकासका नियमहरु समस्त जनताको हितानुकूल लागू गरिन्छ । समाजवादी व्यवस्थामा समाजको योजनाबद्ध र समानुपातिक विकासको नियमलाई नै लिन सकिन्छ । योजना नभैकन समाजवादी समाजले विकास गर्न सक्दैन् । त्यसैले सामाजिक विकासका नियमहरु बुझ्नु र यसको प्रयोग गर्न जरुरी छ । समाजवादी सिद्धान्तमा आधारित केन्द्रीय योजना प्रणालीको आयोजना नै समाजवादी मार्गमा अग्रसर हाम्रा जस्ता मुलुकहरुमा राष्ट्रिय जनवादी क्रान्तिको एक मुख्य कार्यभार हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ११:५४