२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

२९ फागुन, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न आवश्यक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजीत पद्मोदय माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहमा बोल्दै उनले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार गर्नुपर्ने बताएका हुन् ।

‘प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिस्पर्धा गर्नयोग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन आवश्यक छ । यसका निम्ति नीतिगत, कानुनी, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य जरूरी छ । ’

शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि र विकासको सबैभन्दा महत्वपूर्ण पक्षसमेत रहेको भन्दै प्रधानमन्त्रीले शिक्षाको गुणस्तर र विकासले नै विकासका हरेक पक्षमा आफूलाई अब्बल प्रमाणित गर्ने बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १२:३२