२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार, १० महिनाको वस्तु आयात धान्ने

२८ फागुन, काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ । गत असार मसान्तमा रू १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति सात महिनामा १३ दशमलव आठ प्रतिशतले बढेर माघ मसान्तसम्म रू १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा माघ मसान्तसम्ममा १० अर्ब ५० करोड अमेरिकी डलर कायम भएको छ । जुन १० दशमलव दुई प्रतिशतले वृद्धि हो ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रू १२ खर्ब २८ अर्ब पाँच करोड रहेको छ । त्यस्तै, राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रू एक खर्ब ५५ अर्ब २८ करोड बराबर रहेको छ । माघ मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ४ प्रतिशत छ ।

आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० दशमलव आठ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, यो मुद्रा सञ्चितिले नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने देखिएको छ । माघ मसान्तसम्ममा कायम रहेको विदेशी विनिमय सञ्चिति नेपालको कूल गार्हस्थ्य उत्पादनको अनुपातमा २८ दशमलव पाँच प्रतिशत बराबर हो ।

प्रकाशित मिति : March 12, 2023 at 3:25 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/