२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रदेश १ को नाममा नेकपा एकीकृत समाजवादी र जसपाको छुट्टै प्रस्ताव

१७ फागुन, विराटनगर  । प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त रूपमा ‘किरात-लिम्बुवान-सगरमाथा प्रदेश’ नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

उक्त नामकरणका लागि दर्ता गरिएकाे प्रस्तावमा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स्वास्थ्यमन्त्री तथा जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बू र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु समर्थक रहेका छन् ।

यसअघि कांग्रेस र एमालेले संयुक्त रूपमा ´काेशी प्रदेश` नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । यी दुईवटा नाम सदनमा प्रस्ताव हुने भएकाे हाे । प्रदेश १ का सभामुख बाबुराम गाैतमले प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गरेका थिए ।

६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरे पनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ । प्रदेशसभाकाे नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाई सांसदकाे समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १३:४७