आजदेखि आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?
११ फागुन, काठमाडाैं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आज फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।
संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकेकाे छ ।
संस्थाले जारी गरेकाे ०.५ प्रतिशतले हुन आउने ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १ लाख ६९ हजार ७५५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
सर्वसाधारणले कम्पनीले निष्काशन गरेकाे आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। यो आईपीओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सक्छन्।
प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार ०९:३२












