२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

महन्थलाई राष्ट्रपतिको उम्मेदवार बनाउने लाेसपाकाे प्रस्तावमा देउवाले के दिए जवाफ ?

१० फागुन, काठमाडौँ । अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव लिएर लाेसपाका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका छन् ।

कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र लोसपाबाट अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत छलफलमा सहभागी भएका थिए । महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने विषयमा कांग्रेसबाट सकारात्मक प्रतिक्रिया पाएको लोसपा नेता शरदसिंह भण्डारीले बताए ।

देउवाको भनाइ उद्धृत गर्दै भण्डारीले भने, ‘ महन्थजी सहमतिका लागि उपयुक्त पात्र हो । हामी पार्टीभित्र पनि छलफल गर्छौँ । कांग्रेसले आधिकारिक रूपमा आफ्नो उम्मेदवार अघि सारेको छैन’ ।

भण्डारीका अनुसार लोसपा पनि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेकाले ठाकुर पनि सहमत भएको अवस्थामा राष्ट्रपतिका लागि उपयुक्त भएको देउवाको भनाइ थियो । सहमतिको परिस्थिति बन्यो भने उहाँ पनि उपयुक्त हो भन्नुभएको छ,’ उनले भने ।

लोसपाका नेताहरुले मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १३:१८