सनराइज फोकस्ड इक्विटी फण्डमा लगानी गर्ने आज अन्तिम दिन
२४ माघ, काठमाडाैं । सनराइज क्यापिटल लिमिटेडले माघ १० गतेदेखि निष्कासन गरेकाे ‘सनराइज फोकस्ड इक्विटी फण्ड’ नामक म्युचुअल फण्डमा आवेदन दिने आज माघ २४ गते अन्तिम दिन रहेकाे छ ।
क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १ करोड ८० लाख इकाई कोष प्रवद्धक सनराइज बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । एक प्रतिशत इकाई याेजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेडका लागि छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक कराेड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।
सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो। योजनाको कुल आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ६ करोड इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ। यस योजनाको अवधि बाँडफाँड भएको मितिले १० वर्ष हुनेछ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्विकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : February 7, 2023 at 11:50 am









