२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

होटल याक एण्ड यतिको महाप्रबन्धक गैरकानुनी, व्यवसायिक भिसामा नेपाल छिरेर जागिर खाँदै मोनिका


२३ माघ, काठमाडौँ । नेपालको पाँच तारे होटल मध्येको एक याक एण्ड यति होटलको महाप्रबन्धक मोनिका पिटर स्काइब्लाउरको नियुक्ति गैरकानुनी रहेको पाइएको छ । विवादित व्यवसायी राधेश्यम सराफको लगानी रहेको होटल याक एण्ड यतिले व्यापारिक भिसामा नेपालामा रहेको अष्ट्रियाको नागरिकलाई श्रमस्वीकृतिबिना महाप्रबन्धकमा नियुक्त गरिएको खुलासा भएको हो । सराफकै समूहले नेपाली लागनी समेत भएको होटल हायतको सम्पत्ति जालसाजी पूर्वक कब्जामा लिएको छ ।

श्रमस्वीकृतिविना विदेशीले नेपालमा काम गर्न पाउँदैनन् । तर मोनिकाले याक एण्ड यतिको महाप्रबन्धक पदमा जागिर खाइरहेकी छिन । श्रम कानुनको उलंघन गर्दै याक एण्ड यतिले मोनिकालाई काम गराएको पाएपछि त्यहाँको कर्मचारीका संस्थाहरूले कारबाही लागि उजुरी गरेका छन ।

यस विषयमा ट्रेड यूनियन महासंघले नै गैरकानूनी रुपमा काम गर्ने विदेशी नागरिकलाई कारवाही गर्न निवेदन दिएसँगै यो विषय सार्वजनिक भएको हो । महासंघले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा कारबाहीको लागि भन्दै निवेदन दिएको छ ।

निवेदनमा अष्ट्रियन नागरिक मोनिका पिटर स्काइब्लाउरले बिना श्रम स्वीकृति होटेलमा काम गरिरहेकाले कारबाही गर्न माग गरिएको छ । उनले नेपालमा विजनेश गर्ने भनेर सोही अनुसारको भिसा लिएर अर्को प्रयोजनको काम गरेको पाइएको हो ।

उनले २०७८ सालको मंसिर महिनामा ब्लु इनर्जी प्रा।लि नामको कम्पनी दर्ता गरेर विजनेश भिसा लिएको देखिएको छ । तर काम भने उनले याक एण्ड यति होटलमा जीएमका रुपमा गर्दै आएकी छिन् ।

एक किसिमको प्रयोजनका लागि आएर अर्को प्रयोजनका लागि काम गरिरहेको अवस्थामा उनलाई कारबाही गर्नु पर्ने महासंघको माग छ । श्रम स्वीकृति बिनै काम लगाउने होटल र अष्ट्रियन नागरिकलाई कारबाही गर्न पनि विभागसमक्ष महासंघले अनुरोध गरेको छ ।

उनलाई उद्योग विभाग अन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले उनलाई विजनेश भिसाको सिफारिस गरेको छ । विजनेश भिसा लिएर गैर कानूनी रुपमा काम गरिरहेको पाइएपछि हामीले उनलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहिनन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १९:४३