२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सभामुखको निर्वाचन सुरू, यसरी सभामुख बन्दै छन एमाले नेता देवराज घिमिरे (LIVE)

५ माघ, काठमाडौं। प्रतिनिधिसभाले बिहीबार नयाँ सभामुख पाउँदैछ । त्यसका लागि संसद बैठक बसिरहेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाएपछि सभामुख चयको प्रक्रिया अघि बढाएका छन ।

त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया सुरु हुनेछ। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सो प्रस्तावलाई प्रतिनिधिसभा सदस्यहरू हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछानेले समर्थन गर्नेछन्।

त्यसपछि सभामुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । शर्माको प्रस्तावलाई प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले समर्थन गर्ने कार्यसूची छ।

ज्येष्ठ सदस्य राणाले त्यसपछि मत विभाजन गर्नेछन् । पक्ष र विपक्षका सांसदलाई ‘हुन्छ’ र ‘हुन्न’ भन्ने गरी हस्ताक्षर गर्न लगाइने छ । दुवै उम्मेदवारमा जसले हुन्छ भन्ने मत बढी ल्याउँछन् उनै विजयी घोषणा गरिनेछ । नयाँ सभामुखले उपसभामुखको निर्वाचनको मिति तोक्नेछन् ।

सत्तागठबन्धनका उम्मेदवार घिमिरेलाई एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४ सांसदको समर्थन छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन गरेका जसपा, जनमत पार्टीले सभामुखमा कसलाई भोट हाल्छन् भन्ने खुलेको छैन । नागरिक उन्मुक्ति पार्टी पनि अलमलमा छ । यदि तीन पार्टीले भोट हालेनन् भने घिमिरेले १४४ मत पाउने देखिन्छ । जुन विजयका लागि पूर्ण हुन्छ ।

कांग्रेस उम्मेदवार न्यौपानेलाई कांग्रेसका ८८, एकीकृत समाजवादीका १०, लोसपाका चार सांसदको समर्थन छ । जसपाले पनि न्यौपानेलाई मत हाल्ने बताइएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार ११:२१