२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सभामुखको निर्वाचन आज, एमाले उम्मेदवार देवराज घिमिरेको जित निश्चित

५ माघ, काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा हुनुहुन्छ । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहनुभएको छ ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक हुनुहुन्छ ।

आजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ ।

२७५ सदस्यीय प्रतिनिधि सभा सदस्यमध्ये घिमिरेको पक्षमा १४५ भन्दा बढी सांसदले मतदान गर्ने निश्चित जस्तै छ। सभामुखमा निर्वाचित हुन साधारण बहुमत अर्थात १३८ मत आवश्यक पर्छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार ०८:१०