लोकप्रिय युवा नेता रविन्द्र अधिकारीको असफलता
–दुर्गा पुडासैनी
१० असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका लोकप्रिय युवा नेता रविन्द्र अधिकारी पार्टीले दिएको जिम्मेवारी पूरा गर्न असफल भए । राम्रो वाककला भएका अधिकारीको बोली र काम गराईको तादम्यता नमिल्दा पार्टी एकीकरणको मैदानमा आफूले पाएको जिम्मेवारी पूरा गर्न सकेनन अन्तत चर्को आलोचनासहित अधिकारी लगायतको कार्यालद नै पार्टीले खारेज गरिदियो । त्यही जिम्मेवारी पूरा गर्न सकेको भए अधिकारीले आफ्नो कार्यदलका तर्फबाट प्रतिवेदन बुझाएर सफलताको प्रशंशा पाउने थिए तर अधिकारीकै कारण विद्यार्थी संगठनको एकता पछि सर्यो ।
एकता कार्यदलको बैठकलाई मुस्किलले केही समय दिएका अधिकारी तत्कालीन नेकपा एमालेको अनेरास्ववियुका इन्चार्ज थिए । पछि तत्कालीन माओवादी केन्द्रको एकतासँगै उसकको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीसँग एकता गराउनुपर्नेमा अधिकारीले जुन प्रभावकारी भूमिका उनले खेल्नसक्थे त्यो चाहेनन वा गरेनन् । त्यसकै कारण उनी विद्यार्थी नेताहरुका अघि अहिले आलोचनाको पात्र बनेका छन ।
भदौ १ मै उपसमितिहरुबाट आएको प्रतिवेदनलाई कार्यदलबाट फाइनल गरी बुझाउन सक्थे तर उनले त्यो पनि गर्न चाहेनन् । त्यसका अनेक कारण रहेको अनेरास्ववियुका एक नेताले बताए । नाम, विधान र सदस्यको संख्या समेत टुंगिएको अवस्थामा पनि कार्यदलका सदस्य अधिकारी एक कदम अघि बढ्न चाहेनन । जसको कारण पार्टीले उनको कार्यदलको आलोचना गर्दै कार्यदल नै खारेजीको निर्णय गर्यो ।
विकास समितिको सभापति भएर बटुलेको केही छवी समेत धुमिलिदै गएको उनका निकटका नेताहरु बताउँछन । तत्कालीन संसदको विकास समितिको सभापति हुँदा सरोकारवाला पक्षलाई समितिको बैठकमा बोलाएर झाँको झारेर पठाउने गरेका अधिकारी अहिले संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन् । तर उनले मन्त्रालयको नेतृत्व सम्हालेको आधा वर्षमा उनी सबैभन्दा बढी अालोचित बन्न पुगे ।
पर्यटन विज्ञ समूहको नाममा चन्दादाताहरुको समूह बनाएकोदेखि उनीमाथि थुप्रै आरोपहरु आइलागे । कतिसम्म भने चुनावका बेला माला लगाएर किसानको गोठमा गाई दुहेर चर्चा बटुल्न समेत नछाडेका अधिकारी मन्त्री भएपछि सुरक्षाकर्मीलाई छाता ओडाउन र आफ्नो कोट बोकाउन लगाएपछि पनि विवादित बन्न पुगे । आर्थिक वर्ष सकिन लाग्दा अघिल्लै सरकारको निर्णय भन्दै अधिकारीले सङ्घ–संस्थालाई मन्त्रीस्तरीय निर्णयबाट मन खोलेर करोडौँ रुपियाँ ‘दान’ गरे । यसरी दान दिएका संस्थाहरू पार्टी निकटका नेता, कलाकार, साहित्यकार निकटका छन् भने आफ्नो निर्वाचन क्षेत्र निकटका पनि छन् । देश र जनताको भलाइका लागि काम गर्नेभन्दा पनि अधिकांश झोले सङ्घ संस्थाहरूलाई उनले मनलाग्दी पैसा बाडेँ ।
रविन्द्रको विवाद त्यतीमामात्रै सीमित रहेन उनले काठमाडौंको चुच्चेपाटी बौद्धमा रहेको तारागाउँ विकास समिति र निजी क्षेत्रको संयुक्त लगानी रहेको होटल हायतको सेयर बिक्रीमा भारतीयलाई सहयोग गरेको आरोप लाग्यो । त्यस्तै उनले भ्रष्टाचारको क्षेत्रमा बहुचर्चित लाउडा विमान काण्डका अभियुक्त हरिभक्त श्रेष्ठलार्इ नै नागरिक उडड्यन विज्ञका रूपमा नियुक्त गरे यद्यपी समाचार ती विषय बाहिर आएपछि उनलाई हटाइयो । निर्वाचनका समयमा पोखराको फेवाताललाई पुरानै अवस्थामा फर्काउनुपर्छ भनेर भाषण गर्ने अधिकारीले फेवाताल अतिक्रमण गरी वाटर फ्रन्ट रिसोर्ट चलाउने सुनिल शाक्यलाई पनि आफ्नो विज्ञ समूहमा राखे । शाक्यलाई उनले अझै आफूलाई सल्लाह दिने समूहमा राखिराखेका छन ।
उनी लुम्बिनी विकास कोषको नियुक्तिको विषयमा समेत अधिकारी निर्विवादित बन्न सकेनन् । निजगढ विमानस्थलका लागि पनि उनले जे जति प्रक्रिया अपनाउनु पर्ने हो त्यो नै नगरी काम गर्न सुरु गरेको भनेर आलोचना भैरहेको छ । वाइडबडी जाहाज खरिदको विषयमा त पत्रकारले प्रश्न गर्दा माइकनै फालेर उनले आफ्नो व्यक्तित्व झल्काउने काम गरिसकेका छन ।
भिजिट नेपाल २०२० को घोषणा त भयो तर त्यसको कार्यान्वयनका लागि गर्नुपर्ने काममा मन्त्री अधिकारीले ध्यान दिन सकेका छैनन भने फेक रेसक्युका नाममा व्यवसायीलाई आतंकीत बनाएको आरोप पनि उनीमाथि लागेको छ । पार्टीको जिम्मेवारीमा असफल भए पनि अधिकारीले मन्त्री बनेपछि केही सुधारका काम पक्कै गरेका छन ।
त्रिभुवन विमानस्थलको जग्गा एकीकरणको विवाद जुन पाँच वर्षदेखि मिलेको थिएन तर अधिकारीले पाँच घण्टामा मिलाए । विमानस्थलहरुमा सुधारको काम जारी राखेका छन । तर उनले गरेको केही राम्रा कामलाई समेत छाया पार्ने गरी विवादहरु बाहिर आउँदा अधिकारी असफलताको बाटोमा लम्किएको देखिन्छ ।
प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार ११:४०