ऐसेलुखर्कमा रोकियो पशु बीमा कार्यक्रम
४ पुस, काठमाडाैं । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सञ्चालित पशु बीमा कार्यक्रम केही वर्षदेखि रोकिएको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्षित गर्दै लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा पशु बीमा कार्यक्रम सुरु गरेको थियो ।
सुरुका वर्ष १७ बाख्रा र छ बङ्गुुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६/७७ देखि पशु बीमा नवीकरण नगरेको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख प्रमोदकुमार राजभण्डारीले बताए । “एक वर्षको अवधिमा किसानले दुई बाख्राको बीमावापतको रकम पाएका थिए”, उनले भने, “कतिपय किसानले पशु बीमा दाबी गर्न आउँदा नवीकरण नगरेको पाइएपछि रित्तो फर्काउने गरेका छौँ ।”
सङ्घीय सरकारको केन्द्रीय कार्यक्रमअनुसार गाउँपालिकाको समन्वयमा पशु बीमा सुरु गरेको लुम्बिनी इन्स्योरेन्स कम्पनीले अभिकर्ता अभावमा बीमा नवीकरण गर्न नसकेको बताइएको छ । बीमा कम्पनीको अभिकर्ता नहुँदा गाउँपालिकाकै कर्मचारी खटिएर पशु बीमा गर्न सहयोग गरिएको शाखा प्रमुख राजभण्डारीले बताए ।
पशु बीमालाई पुनः निरन्तरता दिने तयारी भइरहेको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राई बताउछन् । “ग्रामीण क्षेत्रका किसानको मुख्य सम्पत्तिका रूपमा रहेको गाई, भैँसी, बङ्गुुर मर्दा हुने आर्थिक क्षतिबाट जोगाउन गाउँपालिकामा पशु बीमा कार्यक्रम लागू गरिएको थियो”, उनले भने, “बीमा गरेको एक वर्षभित्र पशु मरे वा क्षति पुगेमा किसानलाई बीमाङ्क रकमको ९० प्रतिशत रकम प्रदान गर्ने गरी गाउँपालिकामा पशु बीमा सुरु गरिएको हो । आगामी दिनमा यसलाई निरन्तरता दिने तयारीमा छौँ ।”
खोटाङका अन्य स्थानीय तहले पनि पशु बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पशु सेवा कार्यालयले पनि पशु बीमा सञ्चालन गरिरहेको छ । जिल्लामा सञ्चालित पशु बीमा कार्यक्रम प्रभावकारी नभएको किसानको आरोप छ । बीमा कम्पनीले नवीकरणमा तदारुकता नदेखाउँदा समस्या हुने गरेको भेडापालक किसान लक्ष्मण साम्पाङले बताए ।
प्रकाशित मिति : January 18, 2023 at 11:52 am









