२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

नुवाकोटमा जुधेका गोरू हेरेपछि डा प्रकाशशरण महतले भने ‘कांग्रेसले फेरि देशको नेतृत्व लिन्छ’

१ माघ, नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताउनुभएको छ ।आज तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आयोजित गोरु जुधाइ मेलाको उद्घाटन कार्यक्रममा केही हल गोरू जुधेको हेरेर उहाँले भन्नुभयो, “अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ । बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ । तर, नेपाली कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ ।”

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका प्रवक्ता डा महतले यो देशको विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको दाबी गर्नुहुँदै गत निर्वाचनमा जनताले सर्वाधिक मत दिएको दल बाहिरिएको बताउनुभयो । “विभिन्न रूप रङका पार्टीहरू एक ठाउँमा उभिएर सत्ता चलाइरहेका छन् । देशको सर्वाधिक लोकप्रिय पार्टी बाहिर रहेको छ । कांग्रेसले आफ्नो ठाउँबाट सरकारलाई जनताको विकास निर्माणको चाहना पूरा गर्न लागि पर्नेछ”, उहाँले भन्नुभयो ।

तारुकाको विकासको आवश्यकताका बारेमा आफू परिचित रहेको उल्लेख गर्दै डा महतले भन्नुभयो, “यहाँ खानेपानीको आवश्यकता छ, १२ महिना चल्ने सडकको आवश्यकता, गाउँगाउँलाई जोड्ने सडकको खाँचो छ, त्रिशूली नदीमा मोटरेबल पुल चाहिएको छ, कांग्रेसको नेतृत्वमा धेरै काम भएकोले यहाँको आवश्यकता पनि पूरा हुनेछ ।

गोरु जुधाइ परम्परा सांस्कृतिक, पर्यटकीय महत्त्वको रहेकाले यसलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने प्रवक्ता डा महतले जोड दिनुभयो । रासस

प्रकाशित मिति : January 15, 2023 at 11:37 pm