१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन

१ माघ, काठमाडाैं । पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट ९एनएएलएक्स र ९एनएएलए हेलिकोप्टर परिचालन गरिएको उल्लेख छ ।

साथै काठमाडौँ तथा पोखरा विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरु तयारीका साथ राखिएको र स्थलमार्गबाट खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थल ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ तथा नेपाल प्रहरी समेत संलग्न भइ उद्धार भइरहेको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार विमानमा ५३ जना नेपाली नागरिक, पाँच जना भारतीय, चार जना रसियन नागरिक थिए । साथै आयरल्याण्डका एक जना, अर्जेन्टिनाका एक जना, कोरियाका दुई जना, फ्रान्सका एक जनाका साथै चार जना चालक दलका चार जना सदस्य थिए । चालक दलका सदस्यमा क्याप्टेन कमल केसी र अञ्जु खतिवडा थिए भने विमान परिचारिकामा सृजना होङ्गचुन र ओसिन आले मगर थिए ।

केन्द्रका अनुसार एनवाईटी ६९१ नम्बरको ९एन–एएनसी विमान पोखरा टावरसँग विहान १०ः५० बजे सेती खोँच भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चता उक्त विमान दुर्घटना भएको हो । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौँ विमानस्थलबाट विहान १०ः३३ बजे विमान पोखराका लागि उडान भरेको थियो

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १४:०६