५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

३० प्रतिशत लाभांश पारित गर्दै नबिल बैंकको साधारण सभा सम्पन्न


२९ पुस, काठमाडौं । नबिल बैंक लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरण सभाले आफ्ना सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे अनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आ.व. २०७८/७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

३८ वर्ष देखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइ रहेको नबिल बैंकले यस वर्ष पनि ‘क’वर्गको बैंकहरुमध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको छ ।

साधरण सभाले संस्थापक सेयरधनी समूहतर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलयमुखर्जी र ए.आर.एम. नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ ।

नबिल बैंक आ.व. २०७८/७९ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ हासिल गर्न सफल भएको बैंक हो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको चुक्तापूँजी यस वर्ष रु.२७अ र्ब नाघेको छ ।

नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको सभाका अध्यक्ष पौड्यालले बताए ।

उनले बैंकको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिने प्रतिवद्धता गरे ।

बैंकले स्थापनाकालदेखि हालसम्म रु. १९ अर्ब भन्दा बढी रकम करको रूपमा देशको राजश्वमा योगदान गरिसकेको छ । नबिल बैंकले २४० वटा शाखाहरू, २७५ वटा एटिएम र ८ वटा रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवाप्रदान गरेर आफ्ना सबै सरोकारवालाहरूसँगै अघि बढ्ने विश्वास राखेको छ । बैंकको साधारण सभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने सेयरधनी तथा सम्वद्ध सबै निकायहरू प्रति सभाबाट आभार प्रकट गरिएको छ ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १४:५५