१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

गुरु न्यौपानेलाई बोर्डकाे कारवाहीः १० वर्ष कुनै पनि कम्पनीको सञ्चालक बन्न नपाउने, ७५ हजार जरिवाना

२७ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गुरुप्रसाद न्यौपानेलाई कारबाही गरेको छ । धितोपत्र बोर्डले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष न्यौपानेलाई कुनै पनि सूचीकृत संस्थामा १० वर्षसम्म सञ्चालक बन्न नपाउने गरी कारबाही गरेको हाे ।

कानुन विपरित अवैध रुपमा आफु पदमा हुँदा दोस्रो बजारमा सेयर खरिद बिक्रि गरेको पुष्टि भएपछि बोर्डले उनलाई कारवाही गरेको हो। पुस २४ गते बसेको बोर्डको संचालक समितिको बैठकले उनलाई १० बर्षसम्म कुनै पनि पब्लिक लि. कम्पनी वा संस्थाको सञ्चालक, महाप्रवन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरि कारवाही गरेको हो ।

बोर्डले न्यौपानेलाई कारबाही गर्नु नपर्ने कारण सहित स्पष्टीकरण सोधेको थियो । तर चित्त बुझ्दो जवाफ नआएकाले कारबाही गरेको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०८ अनुसार न्यौपानेलाई संचालक बन्न प्रतिबन्ध लगाईएको र धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०१ (७) अनुसार ७५ हजार रूपैयाँ जरिबाना समेत गरेको  बोर्डले जनाएकाे छ । यसअघि सेबोनले रिडी पावर कम्पनीका अध्यक्ष न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष प्रधानमाथि कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।

मंसिर २५ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले दुबैलाई कारबाही गर्न निर्णयसहित सिफारिस गरेको थियो । न्यौपानेले सञ्चालक समितिमा भएको समयमा एकाघरका परिवारका सदस्यको नाममा भएको सेयर बिक्री गरेको बोर्डको अनुसन्धानले पुष्टि गरेको थियो ।

प्रकाशित मिति : January 11, 2023 at 12:20 pm