२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

राप्रपा नेपालले फरक ढंगबाट पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने

https://www.muktinathbank.com.np/online/loan-application

२५ पुस, काठमाडाैँ । यसपटक राप्रपा नेपालले केही फरक ढंगबाट पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने भएको छ । २०६३ सालमा तत्कालिन गिरिजाप्रसाद कोइरालाको सरकारले राष्ट्रिय एकता दिवस मनाउन छाडेपछि कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रत्येक वर्ष पौष २७ गते पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवसको रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। राप्रपा नेपालले सो अवसरमा प्रत्येक वर्ष विभिन्न राजनीतिक दलका नेता, विदेशी राजदुतहरु र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई आमन्त्रित गरी वृहद चियापान कार्यक्रम आयोजना गर्ने गरेको थियो।

२०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा कमल थापा उपप्रधानमन्त्रीको हैसियतमा सहभागी हुँदा उनकै प्रयासमा सरकारले पौष २७ पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गर्नुका साथै सार्वजनिक विदा समेत दिएको थियो। साथै सोही वर्षदेखि राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने र नेपाली सेनाले सम्मान गारद दिने परम्परा समेत शुरु भएको थियो।

यस वर्ष राप्रपा नेपालले राजनीतिक दलका नेताहरु र कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई नबोलाउने तर समाजका विभिन्न वर्ग र पेशाका प्रतिनिधिहरूलाई आमन्त्रण गरी चियापान र विचार गोष्ठी गर्न लागेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभएको छ। विगतमा राजनीतिक दलको रुपमा राप्रपा नेपाल एक्लैले मात्र राष्ट्रिय एकता दिवस मनाउने गरेकोमा केही वर्षदेखि नागरिक समाजको विभिन्न क्षेत्रबाट उक्त दिवस मनाउने लहर चलेको हुँदा राप्रपा नेपालले केही फरक ढंगबाट कार्यक्रम गर्नलागेको महामन्त्री बर्तौलाले बताउनुभयो।

यस वर्ष सरकारले पनि पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय गर्न लागेको सुन्दा खुसी लागेको बर्तौलाले बताउनुभयो। तर,राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई केवल भौगोलिक एकिकरण मात्र गरेको अर्थ दिने गरि सम्बोधन गरिनु र राष्ट्रिय एकता दिवसको रुपमा मनाउने वारे कुनै निर्णय नभएकोमा उहाँले असंतुष्टि व्यक्त गर्नुभयो।

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा नमनाउने र प्रधानमन्त्री प्रचण्डले राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गर्न नजाने हो भने विदा दिनुको कुनै अर्थ नरहने र त्यो केवल सत्ता स्वार्थको निर्णय हुने समेत महामन्त्री राजाराम बर्तौलाले बताउनुभयो।

प्रकाशित मिति : January 9, 2023 at 7:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/