७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

वित्तीय समावेशिताका लागि बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्णः प्रधानमन्त्री प्रचण्ड


२५ पुस, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वित्तीय समावेशिता कायम गर्नका लागि बैंक तथा वित्तीय संस्थाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

काठमाडौँमा आज आयोजित ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु लिमिटेडको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री दाहालले सबै समुदायमा बैंकिङ पहुँचका लागि पहल गरेर वित्तीय समावेशीकरणको आधारशिला तयार गर्न सकिने बताएका हुन्  ।

अहिले अर्थतन्त्रमा देखिएका समस्या सामाधान गर्न नतिजामुखी काम गर्नुपर्नेमा पनि प्रधानमन्त्री दाहालले जोड दिएका छन्  । “मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रलाई गतिशील बनाउन वित्तीय र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँगको समन्वय र सहकार्य गर्नेगरी अघि बढेका छौँ”, प्रधानमन्त्री दाहालले भने ।

बैंक तथा वित्तीय वित्तीय संस्थाले मर्जरमार्फत आफ्नो वित्तीय अवस्था बलियो बनाउँदा ठूला परियोजनामा स्रोत जुटाउन सहज हुने, अझ बढी दक्षता वृद्धि हुने र वित्तीय क्षेत्रमा देखिने अस्वस्थ प्रतिस्पर्धा हट्ने उनको भनाइ छ । सँगसँगै सर्वसाधारण सेवाग्राहीको पहुँचमा भने ह्रास नआओस् भन्ने कुराको हेक्का राखिनुपर्ने प्रधानमन्त्री दाहालले बताए ।

विप्रेषणको कारोबारलाई भरपर्दो र सुरक्षित बनाउन बैंकिङ क्षेत्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ठूला परियोजनामा मात्र नभएर नवीनतम् प्रणाली प्रयोग गरेर आम जनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका लागिसमेत यस क्षेत्रले योगदान गर्नु जरुरी रहेको बताए ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १२:५५