६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने छः प्रधानमन्त्री प्रचण्ड


२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको बताएका छन् । सोमबार बैंक अफ काठमान्डू र ग्लाेबल आइएमई बैंकबीच मर्जरपछिकाे एकीकृत काराेबारकाे कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र सुधार गर्ने निर्णय गरेर काम सुरु गरेको बताएका हुन् ।

अर्थतन्त्र तत्काल सुधार गर्न पर्ने देखिएकोले सरकार गठन लगत्तै पहिलो निर्णय यसै सम्‍बन्धी गरिएको उनले बताए। उनले यसका लागि सरकारले युवालाई उत्पादनका क्षेत्रमा लगाउने, रमिट्यान्सको उचित प्रयोग गर्ने, मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताए ।

यसका लागि अर्थमन्त्री, गभर्नरसँग पनि छलफल गरिरहेको उनले बताए । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको भन्दै प्रचण्डले त्यसका लागि पनि छलफल भइरहेको बताए ।

‘आजको दिनमा पनि हामी आर्थिक विषयमा केन्द्रित रही निरन्तर संवाद गरिरहेका छौँ’, प्रचण्डले भने, ‘अर्थतन्त्रमा तत्काल सुधार र नतिजामुखी काम गर्नुपर्नेछ।’ प्रचण्डले बैंकहरुको मर्जरले ठूला परियोजनामा स्रोत जुटाउन सजिलो हुने तथा वित्तीय क्षेत्रको अस्वस्थ प्रतिस्पर्धा हटेर जाने विश्वास व्यक्त गरे।

उनले अर्थतन्त्रको सबलीकरणलाई प्राथमिकतामा राखिएको बताउँदै सँगै निजी क्षेत्रलाई पनि साथमा लैजाने बताए । सकारले निजी क्षेत्रका समस्यालाई पनि सम्बोधन गरी अर्थतन्त्रका समस्या समाधानका लागि समन्वय र सुझबुझ् गर्ने बताए ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार ११:२६