चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनले निजी क्षेत्रको मनोबल बढ्योः परिसंघ
२४ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले लागु गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, ०७९ मा लचकता देखाउँदै संशोधन गर्दा निजी क्षेत्रको मनोबल उकास्न सकारात्मक सञ्चार प्रवाह गरेको जनाएको छ ।
उद्योगी व्यवसायीहरू कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्थामा अर्थतन्त्र जोगाउन पुराना ऋणीको हकमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन ०७९ दुई वर्ष पर सार्नुपर्ने परिसंघको सुझाव संसोधनले आंशिक रुपमा सम्बोधन भएको जनाएको छ ।
परिसंघले संशोधित मार्गदर्शनबाट यसअघिको ५० लाखसम्म चालु पुँजी कर्जाको सीमा नलाग्ने रकम बढाएर एक करोडसम्म पुर्याउनुलाई सकारात्मक रुपमा लिएको जनाएको छ । यसले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई समेत राहत पुग्ने परिसंघको भनाइ छ ।
पुराना चालु पुँजी कर्जाहरूको हकमा कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह भएको देखिए असारमसान्त ०८२ सम्ममा कर्जा सीमाभित्र ल्याउने समय उपलब्ध गराइनु पनि सकारात्मक भएको परिसंघको भनाइ छ । तर, यस्तो कर्जा अर्धवार्षिक किस्तामा भुक्तानीको अनिर्वाय व्यवस्था गर्नुभन्दा अधिक समय दिइ कर्जा मिलान गर्ने सुविधा उपलब्ध गराउँदा उद्योगी तथा व्यवसायीहरुलाई सहज हुने भनाइ छ ।
प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १६:१८