१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

हिमाल आरोहण गर्न ७० देशबाट ८७० आरोहीले लिए अनुमती

२९ कात्तिक, काठमाडौँ । शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय ७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न ३७ हिमाल आरोहणका लागि एक सय ११ आरोही समूहका दुई सय दुई महिला र छ सय ६८ पुरुष गरी कूल आठ सय ७० जनाले अनुमति लिएका हुन् ।

हिमाल आरोहणबापत रु छ करोड ३५ लाख ७९ हजार ५३ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । शरद् ऋतुको आरोहण करिब अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

निर्देशक गुरुङका अनुसार मनास्लु र हिम्लुङको आरोहण सकिएको छ भने अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ । अहिले ससाना समूहमा आरोही आइरहेका भन्दै उहाँले अब दुई/चार जनाले मात्रै आरोहण अनुमति लिने अनुमान गरिएकोे बताउनुभयो ।

विगतमा जस्तै यो सिजनमा पनि मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा सर्वाधिक २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएका विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

अमादब्लम १४ आरोही समूहका एक सय ५८, हिम्लुल आरोहणका लागि १० आरोही समूहका एक सय २४ तथा धौलागिरिमा एक आरोही समूहका १४, मकालुमा एक आरोही समूहका दुई आरोहीले अनुमति लिएका छन् ।

प्रकाशित मिति : November 14, 2024 at 8:23 pm