२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

उपप्रधान तथा गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुने

२२ पुस, काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ हुने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासमा उपप्रधानमन्त्री लामिछानेको नागरिकताको वैधानिकतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि सुनुवाइ हुन लागेको हो ।

यसअघि ६ पुसमा लामिछानेविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वाेच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । शुक्रबार पेसी चढेसँगै रिटमाथि सुनुवाइ हुने भएको हो ।

अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज भएको र अमेरिकाको नागरिकता त्यागेर नेपाली नागरिकता नलिई खारेज भएको पुरानै नागरिकताबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकाले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको हो ।

अधिवक्ता युवराज पौडेल र अधिवक्ता रविराज बसौलासमेतले राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि हुन् ।

प्रकाशित मिति : 11:25