२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

जीवराम भण्डारीलाई दुई हजार डलरको टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

१२ पुस, काठमाडाैँ । हेम–सरिता पाठक फाउन्डेसनले मुलुकको पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु¥याएबापत वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले फाउन्डेसनद्वारा सोमबार काटठमाडाैँ आयोजित समारोहमा दुई हजार अमेरिकी डलर राशिको उक्त पुरस्कार भण्डारीलाई प्रदान गरेका हुन ।

नेपाली पत्रकारिता क्षेत्रमा करिब तीन दशकदेखि सक्रियरूपमा क्रियाशील रही योगदान गर्दै आएका पत्रकार भण्डारी हाल योहो टेलिभिजनमा समाचार प्रमुखको जिम्मेवारीमा रहेका छन । समारोहमा गायक नवीन पौडेललाई एक हजार अमेरिकी डलर राशिको हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार तथा मनोज विश्वकर्मालाई एक हजार अमेरिकी डलर राशिको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार प्रदान गरियो ।

फाउन्डेसनले मुलुकको सामाजिक, शैक्षिक, सांस्कृतिक र पत्रकारिता क्षेत्रको उन्नयनका लागि आर्थिक सहयोग र विभिन्न सचेतनामूलक कार्यक्रममार्फत सहयोग पु¥याउँदै आएको छ । अमेरिकाको टेक्ससमा मुख्य कार्यालय रहेको उक्त फाउन्डेसनको प्रमुख संरक्षक हेम पाठक, संरक्षक सरिता पाठक र अध्यक्षमा जेनी पाठक रहेका छन ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्मा, नेकपा एमालेका नेता रामेश्वर फूयाँल तथा नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले समाज परोपकारी र राज्य लोकल्याणकारी हुन आवश्यक रहेको बताए ।

सो अवसरमा अध्यक्ष पाठकले फाउन्डेसनले ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीको पहिचान गरी आवाससहित निःशुल्क शिक्षा प्रदान गर्दै आएको जानकारी दिइन । सबैलाई शिक्षा र भ्रष्टाचार विरुद्धको अभियानमा रहेको समर्पित फाउन्डेसनले नेपाली विद्यार्थीका लागि १० हजार अमेरिकी डलर राशिको अमेरिकामा छात्रवृृत्ति खडा गरी सिन्धुपाल्चोक र साँखुको विद्यालयलाई आर्थिक सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार ०९:०१