९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

चोलेन्द्रशम्शेर राणासँग खिलराज रेग्मीको नाम जोडेकामा राजेन्द्रप्रसाद पाण्डेको आपत्ति

२९ मंसिर, काठमाडौँ । निवर्तमान प्राधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग नाम जोडर मन्त्रिपरिषद्का पूर्व अध्यक्ष एवं प्रधानन्यायाधीश खिलराज रेग्मीसँग नाम जोडेकोमा उनको सचिवालयले आपत्ति जनाएको छ । बिहीबार विज्ञप्ति प्रकाशित गर्दै रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले आपत्ति जनाएका छन ।

यस्तो छ संयोजक पाण्डेले जारी गरेको विज्ञप्ति 

प्रेस विज्ञप्ति

कान्तिपुर दैनिकको मिति २०७९।०८।२८ को “खिलराजकै पाला रोपिएको थियो महत्वाकांक्षाको बीउ” भन्ने शीर्षकमा घनश्याम खड्काद्धारा लिखित समाचारप्रति मन्त्रिपरिषद्का पूर्वअध्यक्षको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त समाचारमा प्रकाशित कतिपय अंशबारे स्वयं मन्त्रिपरिषद्का पूर्व अध्यक्षज्यूको यसअघि नै धारणा सार्वजिनक भइसकेको अवस्थामा सोही विषयलाई पुनः दोहोर्याई तेहेर्याई फरक रुपमा, तर, नकारात्मक सन्देश दिने प्रयत्न गरी जसरी समाचार विश्लेषण गरिएको छ, उक्त समाचार सामग्री पत्रकारिताको सिद्धान्तको कसीमा सरासर गलत ठहर्छ।

कुनै पनि विषय, सन्दर्भ र घटनाको विश्लेषणात्मक समाचार पस्कनु पत्रकारको नजरमा प्रेस स्वतन्त्रताको कुरा होला। तर, कतिपय अवस्थामा तथ्य नै फरक पर्ने र परिणामतः लाञ्छित भएको अनुभूति हुने गरी समाचार आउनु अशोभनीय मात्र होइन, पत्रकार आचार संहिताको बर्खिलापमा समेत छ।
उक्त समाचारमा प्रकाशित कुराहरुका बारेमा भन्नुपर्दा, पहिलोः पेशी तोक्दा जुन संलग्नताको कुरा गरिएको छ, त्यो सरासर आधारहीन र गलत छ, किनकि, त्यसरी अन्यत्रबाट तोक्ने कुरा प्राविधिक रुपमा कम्प्युटर सिष्टमबाट नै नमिल्ने हुन्छ।

दोस्रोः प्रधान न्यायाधीश पदबाट राजीनामा दिएनन्, स्वाभाविक पदावधि सकिएपछि उनी प्रधान न्यायाधीश पदबाट बाहिरिए भन्ने जुन कुरा उल्लेख छ, सो कुरा आफैमा तथ्यहीन छ। मन्त्रिपरिषद्को अध्यक्षको कार्यकाल सकिएकै दिन २०७०।१०।२८ मा उहाँले राष्ट्रको नाउँमा गरेको सम्बोधनमार्फत् सर्वोच्च अदालतमा पदाधिकार रहेको प्रधान न्यायाधीश पदबाट राजीनामा दिएको घोषणा गरी तत्काल सम्माननीय राष्ट्रपति समक्ष राजीनामा दिनुभएको थियो, जसलाई लगत्तै अर्को दिनको कान्तिपुर दैनिककै सम्पादकीयमा समेत उल्लेख गरिएको छ।

तेस्रोः इजलासमा रहेका पराजुली र ज.ब.रा. सहितको बहुमतले प्रधान न्यायाधीश हुँदाहुँदै कार्यकारी प्रमुख बन्नु आवश्यकताको सिद्धान्तले ठीक थियो भनी फैसला गर्यो भनी जुन लेखिएको छ, त्यसमा चोलेन्द्र शम्शेर ज.ब.रा.को नाम जोड्नु त्रुटिपूर्ण छ। २०७२।१२।१५ को संवैधानिक इजलासको फैसलामा बहुमत राय दिनुहुने न्यायाधीशहरु वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्र हुनुहुन्थ्यो।

यो प्रसङ्गमा चोलेन्द्र शम्शेर ज.ब.रा.लाई पूर्व अध्यक्ष रेग्मीसँग जोड्दै सरासर तथ्यलाई अनदेखा गरेको भान हुन जान्छ । समाचारमा अन्य कतिपय तथ्यलाई तोडमोड गरेर जसरी पूवाग्रही ढङ्गले आफूखुसी व्याख्या एवं विश्लेषण गरिएको र स्रोतको हवाला दिँदै फलानाले यसो भने भनी जुन कुरा भनिएको छ, वास्तवमा ती भनाईहरु राग र क्लेश राखी गरिएका व्यक्तिगत अभिव्यक्ति जस्ता प्रतीत हुन्छन्।

सत्य सँधै सत्य नै हुन्छ, छोप्दैमा कुनै कुरो झुठो हुँदैन। तसर्थ, उक्त सामग्रीका सन्दर्भमा यस सचिवालयको सरोकार र चासो यत्ति मात्र छ कि स्वस्थ, मर्यादित र सिद्धान्तनिष्ठ पत्रकारितामा विश्वास गरौं र त्यसै अनुरुपको अभ्यास गरौं। पत्रकार आचार संहिता पनि त्यसै लेखिएको होइन र त्यसको परिपालना गर्नु पनि व्यावसायिक पत्रकरिताको धर्मभित्र नै पर्छ।

राजेन्द्रप्रसाद पाण्डेय
प्रेस संयोजक
२०७९ मंसिर २८ बुधबार, काठमाडौं।

प्रकाशित मिति : December 15, 2022 at 2:57 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/