३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

तरलता अभावका कारण निजी क्षेत्र समस्यामा परेको छः गभर्नर अधिकारी


२८ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले तरलता अभावलगायत कारणबाट निजी क्षेत्र समस्यामा परेको भए पनि यो समस्या सधैँ नरहने बताए । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३औँ वार्षिक साधारणसभालाई उद्घाटन कार्यक्रममा गभर्नर अधिकारीले यस्ताे बताएका हुन् ।

“बजारमा आइरहेका समस्याबाट निजी क्षेत्र प्रताडित भएको छ । यसलाई हामीले सहनै पर्छ । तर अब विस्तारै तरलता अभावलगायतका समस्या कम हुँदै जान्छन् ।” उनले भने । पछिल्लो समय बजारमा तरलता केही सहज भएको भए पनि आगामी पुस महिना अझै केही चुनौती रहेको उनले बताए । पुसमा सरकारले राष्ट्र ऋण उठाउने र पुनःकर्जालगायतको असर देखिने गभर्नर अधिकारीको भनाइ छ ।

अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि राज्यले हस्तक्षेप गर्नुपर्ने भन्ने निजी क्षेत्रको चाहनाबारे गम्भीर भएर सोच्नुपर्ने पनि उनले बताए । “राज्यको प्रत्यक्ष हस्तक्षेप होस् भन्ने निजी क्षेत्रको चाहना छ । तर, त्यो कति काउन्टर प्रोडक्टिभ होला त्यसबारे सोच्न जरुरी छ । एउटा क्षेत्र सुधार्न खोज्यो अर्को क्षेत्रमा सन्तुलन बिग्रन्छ । त्यसकारण सबैकुरा एकैपटक सुधार गर्न सकिन्न ।” गभर्नर अधिकारीले भने ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १३:२७

https://srdb.com.np/