५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

गण्डकीको मुख्यमन्त्रीमा दीपक मनाङ्गे ! माधव नेपालले घरमै बोलाएर गरे सल्लाह

२३ मंसिर, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दीपक मनाङ्गेलाई प्रस्ताव गरेको छ । पाँच दलीय गठबन्धनलाई निरन्तरता दिँदा संघीय सरकारमा कुनै भाग नपाए पनि सात प्रदेशको सरकार मध्ये एक प्रदेशमा समाजवादीले नेतृत्वको अवसर पाउने भएकाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार राति मनाङ्गेलाई निवासमै बोलाएर गण्डकीको मुख्यमन्त्रीका लागि प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

मनाङ्गे केहीदिनअघिमात्र समाजवादीमा प्रवेश गरेका थिए । समाजवादीका महासचिव वेदुराम भुसालले अब मनाङ्गेबाट समाजवादीले धेरै कुरा सिक्ने बताएका थिए । मनाङ्गेको समाजवादी पार्टी प्रवेशपछिको पत्रकार सम्मेलनमा उपस्थित भएका महासचिव भुसालले मनाङ्गेको व्यक्तिकोबारेमा चर्चा गर्दै उनीबाट धेरै सिक्नुपर्ने बताएका थिए । मनाङ्गे समाजवादीको गण्डकी प्रदेशको संसदीय दलको नेता बन्दैछन।

शुक्रबार पार्टी अध्यक्ष नेपालले पुनः मनाङ्गेलाई निवासमै बोलाएर मुख्यमन्त्रीको प्रस्ताव गरेपछि मनङ्गे थप उत्साहित भएका छन । सात प्रदेशमध्ये समाजवादीले पहिलो चरणमा नेतृत्व पाउने सम्भावना भएको प्रदेश गण्डकीमात्र रहेको सो पार्टीका नेताहरूले बताएका छन ।

लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका साथै बागमतीमा माओवादीको बढी दाबी रहेको छ भने प्रदेश नम्बर १, मधेश प्रदेश, बागमतीसहितको प्रदेशमा नेपाली कांग्रेसको दाबी रहेको छ । यसअघि गण्डकीमा कांग्रेसले नेतृत्व गरिसकेको र नेतृत्व गरेकाले पार्टीलाई थप विवादित बनाएकाले यसपटक कांग्रेसले गठबन्धन हुँदा त्यसमा दाबी नगर्ने संकेत दिएको छ । प्रदेश नम्बर १ मा समाजवादीले दाबी गरेको भए पनि केही दिनअघि कांग्रेस र माओवादीले कुनै पनि हालतमा प्रदेश नम्बर १ मा समाजवादीको नेतृत्व स्वीकार गर्न सक्ने बताइसकेका छन ।

प्रकाशित मिति : December 9, 2022 at 10:08 pm