११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

बालेनमा मानसिक विचलनः एकातिर सभ्यताको कुरा अर्कोतिर धरहरालाई सेतो टावरको संज्ञा

-सरोजकुमार तामाङ

काठमाडौं महानगरको सभ्यता र सुन्दरताको नाउमा सुुकुम्बासी वस्तीमा डोजर चलाउनु के यो मुलुकको राजधानीको सौन्दर्य हुनेखाने र आलिसान वंगलामा बस्नेहरुको लागि मात्र हो त ? सभ्यता र सौन्दर्यको नाउमा गरिखानेवर्गलाई उठिबास गर्नु विकासको श्नीगणेश हैन् । एकपटक सुकुम्बासी वस्तीमा पुगेर त हेर । न त्यहाँ बिजुली वत्तीको व्यवस्था छ, न त खानेपानी र ढलको नै । यस्तो दयनीय अवस्थामा रहेकाहरुलाई उठिबास गराएर कुन सभ्यताको चिनारी दिन खोज्दैछौ ?

सक्छौ भने सामन्ती फटाह शोषक र पुँजीपतिवर्गले हड्पेको सरकारी जग्गा राज्यको नाउमा फिर्ता गर्ने आँट र हिम्मत गर । यो मुलुकमा धनी र हुँनेखानेको जति बाँच्न पाउने हक र अधिकार रहेको छ; त्यति नै हक र अधिकार गरिब, किसान, मजदुर, सर्वहारा, श्नमजीवीवर्ग र विपन्नको पनि रहेको छ । जसको बाच्ने आधारै छैन भने पहिले उसको उचित ब्यवस्थापन गरेर काम गर्नुपर्छ कि पर्दैन् ? यथास्थितिको राजनीतिक विकल्पको रुपमा तिम्रो जन्म भएको हो भने तिमीले पनि विकल्प दिनुपर्छ कि पर्दैन ?

स्मरणरहोस् !! राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि पटक-पटक गर्दै आएको ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहास निर्माण गर्न गरिब, किसान, मजदुर, सर्वहारा, सुकुम्बासी र श्नमजीवीवर्गले शहिद, अपांग, बेपत्ता र घाईते हुनुपरेको छ । त्यति मात्र हैन आज तिमी काठमाडौं महानगरपालिकाको मेयर बन्न पनि उनीहरुकै भोटको साहारा चाहिन्छ भने संविधानमा अंकित जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई एक जनप्रतिनिधिको हैसियतले आत्मसात गर्नुपर्छ कि पर्दैन ?

सुकुम्बासी वस्तीमाथि चलाएको डोजरे विकासले सामाजिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाज निर्माणको जुन संकल्प संविधानले गरेको छ, के त्यो पुरा हुन्छ ? संविधानको भाग-३ मा उल्लेख गरिएको मौलिक हक र कर्तब्यमा ‘सम्मानपूर्वक बाँच्न पाउने हक र आवासको हक’ को प्रत्याभूति जनप्रतिनिधिले नदिए कसले दिने ?

संघीय संविधानको भाग-४ मा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वमा उल्लेख गरिएको ‘अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने तथा योजनावद्ध र व्यवस्थित वस्ती विकास गर्ने; मुक्त कमैया, कम्हलरी, हरवा, चरवा, हलिया, भूमिहिन र सुकुम्बासीहरुको पहिचान गरी बसोबासका लागि घरघडेरी तथा जीविकोपार्जनको लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुन:स्थापना गर्ने ‘ प्रावधानको ख्यालै नगरी डोजर चलाउनु गैरकानुनी कार्य भएन र ?

सभ्यताको नाटकमा सुकुम्बासीको उठिबास गर्ने विकास काठमाडौलाई चाहिएको छैन् । बोल्ने र लेख्ने तागत ती सुकुम्बासीहरुलाई छैन भन्दैमा दबाएरै शासन गर्छु भन्ने भ्रम तिमीले पालेका छौ भने यो पनि बुझ कि आज तिमी जुन ठाउँमा पुगेका छौ, त्यो औकात बनाउने अरू कोही नभएर ती सुकुम्बासी जनता नै हुन् । हामी कम्युनिष्टहरु तिमी जस्तो राजनीतिको खुद्रे दोकान चलाउने कुनै शोषक सामन्ती पसलेहरु हैनौं । हाम्रो उदेश्य गरिबलाई रुवाएर पर्यटकबाट डलर झार्नु छैन् । सभ्यताको भजनमण्डलीमा गरिबको दोहन गर्नु छैन् ।

समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षाभित्र सुकुम्बासीको पनि उत्तिकै स्थान रहेको छ जति हुनेखाने वर्गको । एक त विगतको राज्यको विभेदकारी नीतिबाट जन्मिएको सुकुम्बासी जनतालाई मास्नको निम्ति श्नमजीवीवर्गको प्रतिनिधित्व गर्ने नेकपा एमाले सुकुम्बासी जनताको आँखामा आँशुको धारा पैदा गर्न तिमीसँग शहरीकरणको नाममा सुकुम्बासीको भावनामा चोट पुर्याउन समन्वय गर्न सकिदैन् ।

बरू यस्तै कुकार्य गर्दै जाने हो भने तिम्रो दिन गन्तिको लागि भने सुकुम्बासीसँग सहकार्य गर्न हामी तयार हुन्छौं किनकि हामी गरिब, किसान, मजदुर, सर्वहारा र श्नमजीवीवर्गको उत्थान र प्रगतिपथमा सदैव साथ रहन्छौं । यो हाम्रो कम्युनिष्ट स्कूलिङ्ग जीन हो । २०४७ सालदेखि यता १४ वटा आयोग सुकुम्बासीको नाउमा बनेतापनि समस्याको समाधान भएन भन्दै के अब सुकुम्बासी समस्याको समाधान डोजर प्रवृत्ति हो त ? केपी ओली नेतृत्वको सरकारले ३२ वटा सुकुम्बासीको जाडो देखेनछ तर तिमीले जाडोको समस्या देखेर डोजर उपचार प्रविधि अपनाएको हो ? तिमीले सुकुम्बासी यो मुलुकको राजनीतिक दलहरुको भोट बैंक देखेर त्यो भत्काउन डोजर चलाएको हो ?

स्मरणरहोस् !! सुकुम्बासीले तिमीलाई भोट हालेको आफ्नो झुपडीमा डोजर चलाउन हैन ? जसको भोटले आज तिमी त्यो ठाउँमा पुग्यौ, उसैलाई सास्ती दिने यो तिम्रो कस्तो विकास नीति हो ? एकातिर सभ्यताको कुरा गर्ने अर्कोतर्फ धरहरालाई सेतो टावरको संज्ञा दिने यो तिम्रो मानसिक बिचलन भएन र ?

धरहरा नेवा सभ्यताभित्र पर्छ भने त्यो जोगाउँदा तिम्रो प्रश्न किन ? नदीक्षेत्रको अतिक्रमण रोक्ने ब्यानरमा सुकुम्बासी जनताको आवास क्षेत्रलाई मरूभूमिमा परिणत गर्न जो कोही उद्दत हुन्छ भने त्यहाँ आन्दोलन र विद्रोह हुन्छ नै । जहाँ गरिब जनताको दमन हुन्छ, त्यहाँ आफ्नो हकहितको रक्षार्थ क्रान्ति हुन्छ । जनताले मतको दान गरेर तिमीलाई राज्यको निर्णायक तहमा पुर्याएको तानाशाह बन्न हैन् । २४० बर्षदेखीको सामन्तीवर्गको किल्लाको रुपमा उभिएको राजतन्त्रलाई त जनताले धुलोपिठो बनाए भने जनताकै मतले छोटे राजन बन्न खोज्नेहरुको अस्थित्व नामेट पार्न धेरै समय लाग्दैन् । चेतना भया !!

प्रकाशित मिति : November 30, 2022 at 1:44 pm