६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

निमफुन्जो शेर्पा भन्छन्- माओवादीको मुखुण्डो उत्रियो, एमाले पहिलो !

१४ मंसिर, सिन्धुपाल्चोक । नेकपा एमालेका नेता एवं बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुन्जो शेर्पाले भर्खरै सम्पन्न निर्वाचनले माओवादीसङै कम्युनिस्ट भनिने केही दलको मुखुण्डो उत्रिएको टिप्पणी गरेका छन् । सामाजिक सन्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले जिल्लामा एमाले नै पहिलो पार्टी भएको पनि दाबी गरेका छन् ।

उनले भनेका छन् –
झट्ट हेर्दा सिन्धुपाल्चोकका दुईवटा प्रतिनिधिसभा र चारवटै प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेदवारले जितेकोजस्तो देखिन्छ । प्रत्यक्षतर्फको अंकगणित त्यस्तै भए पनि समग्र मत र राजनीतिक हिसाबमा भने यसपालिको चुनावमा हाम्रो गौरवशाली पार्टी नेकपा एमालेले उल्लेख्य सफलता हासिल गरेको छ । र, एमालेनै जतताको प्रिय पार्टी भएको फेरि प्रमाणित भएको छ ।

काङ्ग्रेस-माओवादीसहित अरु सबै दल एक भएर एमालेविरुद्द लड्दा पनि प्रतिस्पर्धीहरुलाई प्रत्यक्षमा जित्नसमेत हम्मेहम्मे पर्यो । समानुपातिकमा त एमालेले लोभलाग्दोगरी लोकप्रिय मत पाएर जिल्लाको सबैभन्दा ठूलो र शक्तिशाली पार्टी भएको पुष्टि भयो ।

हिसाब यस्तो छ कि, समानुपातिकमा नेकपा एमालेले ४३,१६३, कांग्रेसले ३५,४३०, माओवादी केन्द्रले २९,१३८, स्वतन्त्र पार्टीले ९,९७४, राप्रपाले ९,६६२ र नेकपा एसले १५२२ पाएका छन् । यसले गठबन्धन नभएको स्थितिमा एमालेले प्रत्यक्षतर्फ पनि सबैलाई बढार्ने तागत राखेको स्पष्ट देखिन्छ ।

तथ्यांकले नै भन्छ कि- कम्युनिस्ट नामधारीहरु जसरी काङ्ग्रेसको शरण परेर चुनाव लडे, त्यसलाई जनताले अस्वीकार गरिदिए । प्राविधिक हिसाबमा उनीहरूले चुनाव जिते पनि सैद्धान्तिक र राजनीतिकरुपमा कम्युनिस्ट नामधारी पार्टीको पराजय भएको छ । `जय नेपाल´ र `नेपाली काङ्ग्रेस-जिन्दावाद !´ भन्दै चुनाव लडेका कम्युनिस्ट भनौदाको मुखुण्डो उत्रिएर दक्षिणपन्थी चरित्र छताछुल्ल भएको छ ।

अनेक घेराबन्दीका बाबजुद पनि हाम्रो प्रिय पार्टीप्रति भरोसा गर्दै मत दिनुहुने सम्पूर्ण सिन्धुबासीलाई `धन्यवाद´ भन्न चाहन्छु । प्रतिकुल परिस्थितिबीच निर्वाचन लड्नु भएका कम्रेडसंगै नेकपा एमालेका सहयोद्दा सम्पूर्ण कम्रेडहरु एकताबद्ध भएर पार्टी तथा संगठन निर्माणमा लाग्ने हो भने आगामी पाँच वर्षपछि हुने कुनै पनि चुनावमा अरु सबै दल एक भएपनि एमालेलाई कसैले पराजित गर्न नसक्ने स्पष्ट छ ।

यसर्थ, जिल्लाका सम्पूर्ण कम्रेडहरुले यसपटक प्राप्त परिणामबाट सिक्दै, समीक्षा गर्दै र आफ्ना कमीकमजोरीलाई सच्याउदै भावी दिनलाई अझ एमालेको पक्षमा पार्नका लागि दीलोज्यान दिएर लाग्न आवश्यक छ । धन्यवाद !

प्रकाशित मिति : November 30, 2022 at 1:21 pm