२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नुवाकोट–१ (१) मा माओवादीका राधिका तामाङ विजयी

१० मंसिर, काठमाडाैँ । नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राधिका तामाङ निर्वाचित हुनुभएको छ ।आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार एक सय ६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सुशीलकुमार खड्काले ११ हजार तीनसय ५० मत ल्याउनुभएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो । यसअघि सोही प्रदेशसभाबाट निर्वाचित हुनुभएका तामाङले यो पटकको चुनावमा एमालेका उम्मेदवार खड्काभन्दा चार हजार आठसय १९ मतान्तरले विजयी हुनुभएको हो ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामु पण्डितले एक हजार पाँच सय नौ, नेकपा (एकीकृत समाजवादी)का राजेश थापाले दुई सय ८२, मङ्गोल नेशनल अर्गनाइजेशनका कर्म तामाङले एक सय ८५, जनसमाजवादी पार्टीका शेरबहादुर विश्वकर्माले एक सय ६७ र नेपाल मजदुर किसान पार्टीका काशीलाल डङ्गोलले एक सय तीन मत प्राप्त गर्नुभयो ।

यही मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा खसेको कूल ३१ हजार एक सय सात मतगणना हुँदा २९ हजार सात सय ६५ मत सदर भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : November 26, 2022 at 10:00 am