२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

ललितपुर-१ प्रदेशसभा १ मा एमालेका मधुसुदन पौडेल विजयी

६ मंसिर, काठमाडाैँ । ललितपर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा नेकपा (एमाले)का मधुसुदन पौडेल विजयी हुनुभएको छ । पौडेल ११ हजार दुई सय ९९ मत प्राप्त गरी बागमती प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरि दाहालले आठ हजार छ सय ५६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार प्रदेशसभाका लागि प्रतिस्पर्धामा रहेका राप्रपाका हुमा पाण्डेयले तीन हजार तीन सय ८९, नेमकिपाका बुद्ध लामाले एक सय ९४, मङ्गोल नेशनल अर्गनाइजेशनका सुरेश मार्फाले एक सय ५६, स्वतन्त्र उम्मेदवार कुमार तिमल्सेनाले २४ मत प्राप्त गर्नुभयो ।

साथै, चीनबहादुर तामाङले ४३, ठक्कर घिमिरेले १२, दीपेशकुमार खत्रीले एक सय २४, नारायण खड्काले आठ, रामहरि घिमिरेले २४ र श्यामकुमार घिमिरेले ६५ मत प्राप्त गर्नुभएको छ ।

कुल ३६ हजार सात सय ८३ मत रहेको यस क्षेत्रमा २४ हजार आठ सय ३७ मत खसेको थियो । यहाँ २३ हजार नौ सय ९४ मत सदर र आठ सय ४३ मत बदर भएको थियो ।

विसं २०७० को संविधानसभाको निर्वाचनमा पौडेल र दाहाल ललितपुर क्षेत्र नं १ बाट संविधानसभा सदस्यका लागि एमाले र माओवादीका तर्फबाट उम्मेदवार थिए । त्यसबेला कांग्रेस उम्मेदवार उदयशम्शेर राणाले संविधानसभा सदस्यका लागि जीत हासिल गरेका थिए ।

प्रकाशित मिति : November 22, 2022 at 10:58 pm