नुवाकोटमा केहीबेरमा मतगणना हुँदै, कांग्रेसले घात गरेको माओवादीको आरोप
५ मंसिर, नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोटमा केहीबेरमा मतगणना गर्ने तयारी गरिएको छ । क्षेत्र नम्बर १ को तादी गाउँपालिकाको केन्द्र खरानीटार र क्षेत्र नम्बर २ को जिल्ला सदरमुकाम विदुरमा मतगणना हुनेछ ।
मतगणनाका लागि बिहान ८ बजे सर्वदलीय बैठक डाकिएको छ । ढिलामा पनि १० बजेभित्र दुबै क्षेत्रमा मतगणना सुरू हुने जनाइएको छ । मतगणनास्थलमा सिसिटिभी क्यामरा जडान र तारजालीको निर्माण गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोटमा न्यून मत खसेको छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ७४ प्रतिशत मत खसेकामा आइतबार सम्पन्न आम निर्वाचनमा ५४ दशमलव ३९ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिकाएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।
दुई लाख ३९ हजार सात सय २६ मध्ये एक लाख ३० हजार तीन सय ९८ मतदाताले मतदान गरेका छन् । उनका अनुसार निर्वाचन क्षेत्र नं १ मा करिब ४५ प्रतिशत र निर्वाचन क्षेत्र नं २ मा करीब ६० प्रतिशतको हाराहारीमा मतदान भएको पाइएको छ ।
निर्वाचन क्षेत्र नं १ को शिवपुरी, दुप्चेश्वर, पञ्चकन्या, तादी गाउँपालिकामा न्यून मत खसेको प्रारम्भिक विवरणमा देखिएको हो । दुई वटा प्रतिनिधिसभा र चार प्रदेससभा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा निर्वाचन अधिकृतको कार्यालयभित्र मतगणनास्थल तयार गरेर गणना सुरु गर्न लागिएको छ ।
कांग्रेसले घात गरेको माओवादीको आरोप
नुवाकोटमा पाँच दलीय गठबन्धनभित्र मतगणना नहुँदै आरोप देखिन थालेको छ । माओवादीका नेता कार्यकर्ताले नेपाली कांग्रेसले घात गरेको भन्दै सामाजिक सञ्जाल रंग्याएका छन । उनीहरूले क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा आफूहरूले कांग्रेसका लागि इमान्दार भएर मत दिएको भए पनि प्रदेशसभामा कांग्रेसका नेता कार्यकर्ताले मत नदिएको आरोप लगाएका छन । माओवादीका एक कार्यकर्ताले सामाजिक सञ्जालमा जनाएको प्रतिक्रिया ।

प्रकाशित मिति : 07:30









