स्याङ्जामा बुथ कब्जाको आरोप लागेका धनराज गुरूङ भन्छन, कांग्रेस पहिलो पार्टी बन्छ
४ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले आज सम्पन्न भएको निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । स्याङ्जामा बुथ कब्जाको आरोप समेत लागेका क्षेत्र नं २ को प्रतिनिधिसभाका उम्मेदवार नेता गुरुङले स्याङ्जासहित देशभर नै कांग्रेसको पक्षमा उत्साहजनक जनलहर रहेकाले कांग्रेस पहिलो पार्टीका रूपमा संसद्मा उपस्थित हुने बताउनुभयो ।
रासससँग सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले स्याङ्जाका मतदानस्थलहरूमा पुग्दा कांग्रेसको पक्षमा मतदाताहरू सकारात्मक रहेको पाएको बताउनुभयो । “स्याङ्जाका केही ठाउँमा सामान्य विवाद, झैझगडाहरू भएका छन्, असामान्य केही पनि भएको छैन र निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “स्याङ्जामा जस्तै देशैभर मतदाताहरूमा कांग्रेस पार्टीप्रति यही खालको सकारात्मक उत्साह र परिणाम छ भन्ने विश्वासमा छु, तसर्थ संसद्मा नेपाली कांग्रेस पहिलो पार्टीका रूपमा उपस्थिति जनाउँछ ।”
मतदानलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने मतदाता, निर्वाचनमा खटिनुहुने कर्मचारीलगायत सबैप्रति उहाँले आभार प्रकट गर्नुभएको छ ।
प्रकाशित मिति : 21:56









