ओलीको अपिलः भोट दिँदा आफ्नो र छोराछोरीको भविष्य सम्झिदिनुस्
१ मंसिर, काठमाडाैँ । चुनावको पूर्व सन्ध्यामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताहरुलाई आफूलाई रोज्ने कि शेरबहादुर देउवालाई भनेर प्रश्न सोधेका छन । बुधबार मतदाताको नाममा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते तपाईंले हाल्ने भोटले पाँच वर्ष देश कसको हातमा सुम्पने भन्ने निर्क्याैल गर्ने बताएका छन । ‘शेरबहादुर देउवा हातमा कि म केपी शर्मा ओलीको हातमा ’अध्यक्ष ओलीको सन्देशमा भनिएको छ ‘ त्यसैले भोट हाल्नु अघि दुई भविष्यलाई सम्झनुहोला । पहिलो तपाईंको आफ्नै भविष्य र दोस्रो तपाईंका आफ्ना छोराछोरीको भविष्य ।’
अध्यक्ष ओलीको सन्देशको पूर्ण पाठ यस्तो छ –
प्रिय मतदाता ! अब स्पष्ट निर्णय लिने समय आएको छ । किनकि मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निक्यौंल गर्नेछ । शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा । त्यसैले भोट हाल्नु अघि दुई भविष्यलाई सम्झनुहोला । पहिलो तपाईंको आफ्नै भविष्य र दोस्रो तपाईंका आफ्ना छोराछोरीको भविष्य । प्रिय मतदाता ! म झुटो बोल्दिन सत्य छोड्दिन । तपाईंलाई थाहा छ म पटक पटक मृत्यूको मुखमा पुगेर व्यक्ति हुँ । अहिले देश केही व्यक्ति र समुहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइ रहेको छ । जसको कुनै राष्ट्रिय उद्धेश्य छैन यही गठबन्धन रहिरहे मुलुक बर्बाद हुन्छ । तपाईं र तपाईंका छोराछोरीको भविष्य समेत बर्बाद हुन्छ । त्यसैले आज म यस सन्देश मार्फत तपाईंसँग भोट माग्दैछु । तर मैले मागेको भोट एमालेको जितको लागि होइन म तपाईं र तपाईंको सन्तानको सुखका लागि राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु । यो त्यतीखेर मात्र सम्भव हुनेछ जब तपाईंले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ । त्यसैले सूर्य चिन्हमा मतदान गरौं ।
प्रकाशित मिति : November 17, 2022 at 8:37 am









