२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

कांग्रेस नेता बिष्णु कार्कीका कारण १४ किसानको बिचल्ली, न त पैसा पाए नत जग्गा नै

३० कार्तिक,नवलपुर । नवलपरासी(बर्दघाट सुस्ता पूर्व) आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा नवलपुर २ बाट गठबन्धनको तर्फबाट उमेद्ववार बनेका नेपाली काग्रेसका नेता बिष्णु कार्कीले कावासोतीको चौध घर परिवार किसानलाई बिचल्ली पारेका छन्।केरूङ्गे खोलाबाट नदीजन्य पदार्थ अवैध उत्खनन गरि बर्षौदेखि स्थानीयको जग्गामा डम्पिङ गरेर सम्झौता बमोजिमको रकम नदिएकाले किसानहरू बिचल्लीमा परेका हुन् ।

बिष्णु कार्कीलाई केरूङ्गे खोला दोहन गरि नदिजन्य पदार्थ तस्करी गरेको आरोप लागेको छ। यस सम्बन्धी मुद्वा तत्कालिन पुनरावेदन अदालत बुटवलमा परेपछि फैसला नहुन्जेल उनले डम्पिङ गरि किसानको खेतमा राखेको खोलाको गिट्टी उठाउन पाएका छैनन्। जसका कारण किसानले नत आफ्नो खेतमा खेती पाती गर्न पाएका छन् नत जग्गाको भाडानै पाएका छन् । तीन वर्षदेखि आफुहरूले रकम नपाएको कावासोती ५ का किसान रत्न बहादुर रावलले संचारकर्मीलाई जानकारी गराए ।

रावल भन्छन् ‘विष्णु कार्की धनि मान्छे हो ।ईट्टा भट्टाहरू, क्रसरहरू छ। रकम दिन्छ भनेर जग्गा दिईयो। अहिले फोन गर्दा आले टाले गर्ने, तँलाई के खाँचो भन्ने गरेर होपलेसै गरायो। फेन्टै भैएला जस्तो भयो’। रावलको गरिखाने दश कठ्ठा जमिनमा कार्कीले वर्षौदेखि गिट्टी डम्पिङ गरिदिएका छन्। उनि जस्तै चौधजना किसानहरू कार्कीको व्यबहारले आजित भएका छन् । ‘न गिट्टी लान्छ न राहत दिन्छ’। अर्का किसान तिलबीर रानाले भने।

अनुगमनको क्रममा खोला दोहन गरि थुपारेको गिट्टीको स्टक उत्खनन गर्न दिईएको परिमाण भन्दा कैयौ गुना धेरै पाईएपछि कार्कीको जेसिभि, ट्रिपर लगाएतका मेशिन उपकरण बरामद गरिएको थियो र डम्पिङ पनि सिल गरेर मुद्वा चलाईएको थियो।आजसम्म उक्त मुद्वा फैसला नहुँदा यस्तो विषम परिस्थिति सिर्जना भएको हो। ‘वरिपरिकाले जग्गा दिएपछि मैले पनि बाध्य भएर दिएँ। अहिले क्लबको जग्गामा बसेर निमेक,धिमेक गरेर पेट पालेको छ’। टहल बहादुर रानाले भने । उनी कावासोती ६ विष्णुनगरमा बस्छन् ।

अहिले डम्पिङ गरिएको ठाउँ बगरको पहाड बनेको छ। ‘मेरो त १ कठ्ठा घडेरीमा चेनवाला डोजर छ। १० कठ्ठा डम्पिङै भयो। मलाई त मेरो अँशै गएजस्तो भएको छ’। कृष्णलाल खनालले भने। खेती गर्न त पाईएन, घर समेत बनाउन नपाएकोमा उनले दु:खेसो पोखे। कावासोती ५ का स्थानीयको सात बिगाहा जमिनमा कार्कीले खोलाको बगर डम्पिङ गरेका छन् । ‘गिट्टी पनि उठाएन, बहाल पनि पाएन’। दधिसरा रानाले भनिन् । अबैध धन्दा चलाएका कार्कीले गर्दा यहाँका किसानहरू मर्कामा परेका छन् ।

प्रकाशित मिति : November 16, 2022 at 6:33 pm