स्वार्थको बाँसुरी बजाएर गठबन्धन सरकार बसिरहेको छः अध्यक्ष ओली
२९ कार्तिक, भक्तपुर। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा नेता तथा पोलिटव्युरो सदस्य महेश बस्नेत राष्ट्र बचाउने, मुलुक बनाउने नेता भएको बताएका छन् । नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ ‘क’ प्रदेशसभा निर्वाचन परिचालन कमिटीले आज बालकोटमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवा नेता तथा पूर्वमन्त्री बस्नेत मुलुका संकट परेको समयमा जस्तोसुकै असहज परिस्थितीलाई समेत सहज रुपमा समाधान गर्न सक्ने एक डायनामिक लिडर भएको बताए ।
भक्तपुरको लागि मात्र नभई मुलुकको नै नेतृत्व युवा नेता बस्नेतले गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले मुलुकले खोजेको भक्तपुर क्षेत्र नं. २ का जनताले रोजेको नेता महेश बस्नेत भएको बताए ।
उनले भने, ‘महेश बस्नेत सानै उमेरमा सफल मन्त्रीको रुपमा स्थापीत नेता हो । भक्तपुरको लागि मात्र नभई मुलुकै लागि आवश्यक युवा नेताको नाम पहिलो नम्बरमा महेश बस्नेतको आउँछ । मुलुकलाई संकट परेको बेलामा बचाउने र मुलुक बनाउने स्पष्ट भिजन भएको नेता महेश बस्नेत हो । माओवादी द्वन्द्वको समयमा भएको ज्यादतीको विरुद्धमा आफ्नो ज्यानलाई बाजी लगाउँदै जनता तथा मुलुक बचाउने अभियान चलाएको आम युवाले मात्र नभई सम्पूर्ण नेपाली जनताले सम्झेका छन् । त्यसैले अब महेश बस्नेत निर्वाचित भएपछि भक्तपुरमात्र बनाउने हैन, मुलुकको विकास र समृद्धिको नेतृत्व गर्र्ने क्षमतावान युवा नेता हो ।’

भक्तपुर क्षेत्र नं. २ मा ७५ देखी ८० प्रतिशत जनताले महेश बस्नेतको लागि सूर्य चिन्हमा मतदान गर्नेमा विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले नेता बस्नेतले भक्तपुरमा गर्नुभएको विकास र आगामी दिनको योजनाबाट आम नेपाली जनता नै हर्सित भएको दावी गरे । उनले भने, ‘आन्दोलनबाट खारिएर आएको महेश बस्नेतको लागि भक्तपुर क्षेत्र नं. २ का जनताले कमसेकम ७५–८० प्रतिशतभोट दिनेछन् ।
२०–२५ प्रतिशत त बहुदलीय व्यवस्था हो, अरुलाई जानुपर्छ । स्वतन्त्र उम्मेदवारले समेत महेश बस्नेत र एमालेलाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिनुभएको छ ।यसबाट के बुझ्न सकिन्छ भने महेश बस्नेतलाई लौरोले हान्छु भन्नेहरु वास्तविकता बुझेपछि लौरोले टेको दिई साहारा बनेका छन् । त्यसैले महेश बस्नेत देशको छोरो हो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षधर हो ।’
महेश बस्नेतको विरुद्धमा उम्मेदवारी दिने गठबन्धनका नेताहरु बाध्यताले मौदानमा उत्रिएको उल्लेख गर्दै अध्यक्ष ओलीले अहिले महेशसँग किन लड्ने भन्ने अवस्थामा पुगेको दावी गरे । महेशसँग हार्ने निश्चित भएपनि पार्टीको कारणले चुनावी मौदान छाड्न नमिलेको उल्लेख गर्दै उनले मंसिर ४ गते हुने निर्वाचनमा महेश बस्नेतको छेउमा गठबन्धन फिक्का हुने बताए ।
आगामी निर्वाचन देशले जित्ने कि हार्ने भन्ने भएको उल्लेख गर्दै उनले लोभी, पापी, देशको पक्षमा उभिन नसक्नेहरु स्वार्थीहरुको मिलिजुली खाउँ, लुटपाट गरी खाउँ भन्नेहरुको गठजोडबाट देशलाई झमेलाको थलो बनाउनेहरुलाई विदाई गर्ने निर्वाचन भएको बताए ।
जनताले देशलाई स्थायीत्व दिन एमालेको पक्षमा मतदान गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले देशको अस्थिरता अन्त्य गर्ने एमालेको काँधमा जिम्मेवारी रहेको बताए ।
गठबन्धन सरकारले देशलाई कंगाल बनाउने बाटोमा लगेकाे आरोप लगाउँदै उनले सरकारले विकासमा होलिडे बनाइरहेको भन्दै आक्रोस जनाए । देशको अर्थतन्त्र ध्वस्त हुने अवस्थामा पुगेको उल्लेख गर्दै उनले गठबन्धनको सरकार बनेसँगै देशमा महंगीले जनतालाई ढाड सेकेको बताए । स्वार्थको बाँसुरी बजाएर गठबन्धन सरकार बसिरहेको उल्लेख गर्दै उनले जालझेलको राजनीतिलाई आगामी निर्वाचनबाट जाली फटाहालाई जनताले निर्वाचनबाट भोटमा लोप्पा खुवाई दिने बताए ।
प्रकाशित मिति : 12:46









