२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

घोषणापत्रमा ल्याएका २० ग्यारेन्टी कार्यान्वयनका लागि एमालेलाई विजयी गराउः अध्यक्ष ओली

२९ कार्तिक, सिन्धुली । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउन सुदृढ सरकार आवश्यक रहेको बताएका छन् ।सिन्धुलीको दुधौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प साकार पार्न सूर्य चिह्नमा मतदान गर्न आग्रह गरे ।

उनले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको र त्यो तानातान गर्ने समूह देशका लागि नचाहिएको भन्दै निर्वाचनपछि सुदृढ राष्ट्रिय शक्तिको देशको आवश्यकता एमालेले पूरा गर्ने बताए । अध्यक्ष ओलीले मंसिर ४ पछि एमाले सरकार बन्ने वताउँदै त्यसका लागि सिन्धुलीबाट एमालेका सबै उम्मेदवारलाई विजयी बनाई पठाउन आग्रह गरे ।

एमालेले घोषणापत्रमार्फत ल्याएका २० ग्यारेन्टीको कार्यान्वयन का लागि पनि एमालेका उम्मेदवारलाई विजयी बनाउन उनले सिन्धुलीवासीलाई आग्रह गरे । बालबालिका, बृद्धबृद्धा सबैका लागि एमाले नै चाहिएको अध्यक्ष ओलीले बताए ।

महिला तथा किशोरीलाई स्यानेटरी प्याडका लागि बार्षिक एकहजार पाँच सय रुपियाँ दिने व्यवस्था एमालेले घोषणापत्रमार्फत ल्याएको जानकारी गराउँदै यो व्यवस्था कसैले पनि हटाउन नसक्ने बताए । उनले सुनकोशी मरिण डाइभर्सन, मदनभण्डारी राजमार्ग देशको आर्थिक समृद्धिका आधार भएको बताए ।

प्रकाशित मिति : November 15, 2022 at 10:12 am