२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

झाँक्रीले अगुल्टो मुखमा झोस्दा युवा गम्भीर घाइते

२६ कात्तिक, मध्यविन्दु (नवलपरासी पूर्व)। नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् । नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो ।

काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्यापर समेत रहेका कावासोती–१ निवासी २० वर्षे मिलनजङ्ग कुँवर बिरामी भएर घर आएका थिए । उनको उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो । सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक–पटक झोस्दा कुँवर गम्भीर घाइते भएका हुन् ।

घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारजनले जानकारी दिएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान भइरहेको पाठकले बताए ।

प्रकाशित मिति : November 12, 2022 at 2:28 pm