२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

निर्वाचन पछि पनि गठबन्धन सरकार बन्यो भने मुलुक बर्बादीतर्फ जान्छः केसी

२५ कार्तिक, काठमाडाैं । नेकपा एमाले बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य पदका उमेदवार हिरा बहादुर केसीले आगामी निर्वाचन पछि पनि मुलुकमा गठबन्धन सरकार बन्नु भनेको मुलुक बर्बादीतर्फ जाने बताएका छन् ।

नेकपा एमाले गण्डकी प्रदेशसभा सदस्य पदका उमेदवार केसीले बागलुङ नगरपालिका वडा नं. ९ तित्याङमा आयोजित चुनावी कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

डेढ वर्षको अवधीमा गठबन्धन सरकारले मुलुक श्रीलंकाको पथमा लैजान खोजेको भन्दै केसीले आगामी चुनावबाट यही सरकार रहने अवस्था आए मुलुकको वर्वादी रोक्न नसकिने दावी गरे । वर्तमान सरकारले नागरिकता विधेयक, एमसीसी, एसपीपी जस्ता राष्ट्र विरोधी कार्य गर्नुका साथै उपभोग्य वस्तुको मूल्य दोब्बर दृद्धि गरेर जनताको ढाड सकेको बताए।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य तथा प्रदेशसभाका समानुपातिक उमेदवार कृष्ण पाठकले राष्ट्रियताको जर्गेना गर्न, आर्थिक तथा सामाजिक विकासका लागि एमालेको विकल्प नभएको बताए । गण्डकी प्रदेशमा एमाले नेतृत्वको प्रदेश सरकार र गठबन्धन नेतृत्वको सरकारले गरेका कामहरुको मूल्यांकन गरेर मतदान गर्न उनले आव्हान गरे ।

तित्याङका विभिन्न टोलहरुमा आयोजित टोलभेलामा एमाले जिल्ला उपसचिव गणेश थापा, जिल्ला सदस्यहरु अनन्त बहादुर खड्का, भावना खड्का लगायतले मुलुकको स्थिरता र विकासका लागि एमाले नेतृत्वको सरकार गठनका लागि एमाले उमेदवारहरुलाई विजयी गराउन आव्हान गरेका थिए ।

प्रकाशित मिति : 12:42