६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट

२४ कार्तिक, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गरेका छन् । राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गरेकी हुन् । उक्त अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान भएको थियो ।

उक्त भेटमा आइसल्यान्डका प्रधानमन्त्रीले नेपालले महिला सहभागिताको क्षेत्रमा गरेको प्रगति उदाहरणीय रहेको उल्लेख गर्दै महिला नेतृत्वको क्षमता विकास, जलवायु अनुकूलन तथा अन्य पारस्परिक हितका विषयलाई प्राथमिकतामा राखी सम्बन्ध विकास गर्नुपर्नेबारे छलफल भएको थियो ।

त्यसैगरी राष्ट्रपति भण्डारीसमक्षम ‘वुमन पोलिटिकल लिडर्स’का संस्थापक तथा युरोपेली संसद्का पूर्वउपाध्यक्ष सिल्भाना कोक–मेहरिन तथा विश्व महिला नेतृत्व परिषद्का महासचिव लाउरा लिजउड र युएन वुमनका कार्यकारी निर्देशक सीमा बाहोसले पनि शिष्टाचार भेट गरेकी थिइन् ।

सम्मेलनका क्रमममा नै राष्ट्रपति भण्डारीसँग आइसल्याण्डबाट सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने पर्वतारोही महिलाहरुले भेट गरे । यसैगरी आइसल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई राष्ट्रपति भण्डारीले सम्बोधन गरेकाे उनका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए ।

विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ को कार्यक्रममा सहभागी हुन दुई दिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुग्नुभएको हो । उहाँ विभिन्न कार्यक्रममा सहभागी भएर यही कात्तिक २६ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

सबै भेटघाटमा परराष्ट्र सचिव भरतराज पौडेल, राष्ट्रपति कार्यालयका सचिव यादव कोइराला, राष्ट्रपतिका सञ्चारविज्ञ ढकाललगायतका अधिकारी सहभागी थिए ।

प्रकाशित मिति : November 10, 2022 at 10:43 am